२० असार २०८३, शनिबार

निकोलस भुसालविरुद्ध​ साइबर अपराध मुद्दा दर्ता, ५० हजार धरौटी माग

माघ ४, २०८१
काठमाडौं
निकोलस भुसालविरुद्ध​ साइबर अपराध मुद्दा दर्ता, ५० हजार धरौटी माग

रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ । 

शुक्रबार कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । 

न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । सरकारी वकिल कार्यालयले एक लाख जरिवाना र पाँच वर्षको कैद सजायको मागदाबी गरेको थियो । 

विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्‍याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरेकाले भुसालमाथि कारबाही हुनुपर्ने माग अभियोजन पत्रमा गरिएको थियो । 

भुसालले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आएकाले मागदाबीअनुसार आदेश पाउँ भन्दै सरकारी वकिल कार्यालयले अभियोजन पत्र दर्ता गरेको थियो ।

गत मंसिर २९ गते भुसाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका बेला रवि लामिछानेलाई भेट्न पुगेका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका प्रतिवादी लामिछाने गत पुस ५ गते ६५ लाख धरौटी बुझाएर छुटेका छन् । 

यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा पुर्‍याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्