
काठमाडौं, ३ मंसिर– आइतवार बिहानै एउटा खबर सनसनीपूर्ण रुपमा फैलियो, प्रचण्डपुत्र प्रकाश दाहालको निधन ! विगत केही दिनदेखि अस्वस्थ रहेका भनिएका उनको मृत्यु नै होला भनेर सजिलै पत्याउने अवस्था थिएन । किनकि उनी बाहिर देख्दा स्वस्थ र स्फूर्त देखिन्थे । तर त्यो खबर सत्य ठहर भएको छ । अर्थात् प्रकाश दाहाल अब यो दुनियाँमा रहेनन् ।
प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका प्रकाश दाहाल २०५६ सालदेखि माओवादी पार्टीमा भूमिगत भए । त्यतिबेला उनी मात्र १५ वर्षका थिए । बुबा नेतृत्वको माओवादीले सशस्त्र जनयुद्ध शुरु गरिसकेपछि प्रकाशले सामान्य नागरिकजस्तै गरी हिँड्न सकिने अवस्था थिएन । त्यसैले पनि उनी पार्टीमा होलटाइमर (पूर्णकालीन) भए । भूमिगत अवस्थामै हुँदा उनले १२ कक्षासम्मको औपचारिक अध्ययन पूरा गरे ।
पार्टीमा भूमिगत हुँदा उनको जिम्मेवारी बुबा तथा पार्टीका सुप्रिम कमाण्डर प्रचण्डको सहयोगीको रुपमा काम गर्नु थियो । बुबाको सहयोगीका अलावा उनी पार्टीका विभिन्न युद्ध अभियानमा पनि सहभागी भए । माओवादीको तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ (जो अहिले उपराष्ट्रपति छन्) सँगै उनी विभिन्न युद्ध अभियानमा सहभागी हुन्थे । प्रकाश माओवादीको तत्कालीन केन्द्रीय कार्यालय ‘हेडक्वार्टर’मा सूचना संकलन विभागमा काम गर्थे । युद्धकालमा उनले नेताका गाडी समेत चलाउँथे ।
भूमिगत कालमा हुँदा प्रकाश धेरैपटक मृत्युको मुखबाट जोगिए । सेनासँगको दोहोरो भिडन्त हुँदा पनि प्रकाश माओवादीको जनमुक्ति सेनासँगै हुन्थे । युद्धमा बाँचेका प्रकाश मुटुले काम नगर्दा संसारबाट विदा भएका छन् ।
शनिवार साँझ आमा सीता दाहालले पकाएको जाउलो खाएर सुतेका प्रकाश चीर निद्रामा गइसकेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निभाइरहेका प्रचण्डका कुशल सहयोगीको रुपमा प्रकाशको अभाव खड्किरहने छ ।