
आफूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भएको बताउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बस्ने कुशल ठकुरी भनिने दिनेश घिमिरे रहेका छन् ।
उनले आफूलाई कहिले सीआईबीको प्रहरी र कहिले भन्सारको एजेन्ट बताएर ठग्ने गरेका थिए । पीडितहरूलाई विश्वासमा पार्न उनले नक्कली परिचयपत्र समेत देखाउने गरेको प्रहरीले बताएको छ ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आएका सुन, आईफोन छुटाउनेदेखि भन्सारले लिलाम गर्न लागेका स्करपिओ, क्रेटा गाडीहरू समेत सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
एक करोड रूपैयाँ बढी ठगी गरेको खुलेको छ । अपराध महाशाखामा उनका विरुद्ध ११ वटा उजुरी परेका थिए । घिमिरेले आफ्नो बैंक खाता र मोबाइल वालेटमा रकम हाल्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मंगलबार राति १० बजे ठमेलबाट पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी आचार्यले बताए ।