
नेपाल रेडक्रस सोसाइटीले हालै केही राजनीतिक दलहरूले रेडक्रसका संरचनालाई पत्राचार गरी छलफल अन्तरक्रिया समेतका लागि आह्वान गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
महामन्त्री भूपतिलाल श्रेष्ठले आज विज्ञप्तिमार्फत कुनै पनि राजनीतिक दलबाट रेडक्रसको तटस्थताको सिद्धान्त एवं मूल्यमान्यताविपरीत भएका यस किसिमका गतिविधि नगर्न नगराउन अनुरोध गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गका रूपमा विसं २०२० मा स्थापना भएको र संस्थादर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई समाजकल्याण परिषद्मा आबद्ध समाजसेवी संस्था हो ।
यसैअनुरूप नेपाल रेडक्रस सम्पूर्ण राजनीतिक दल तथा अन्य सरोकारवालालाई यस संस्थाले पालना गर्ने आधारभूत सिद्धान्त, रेडक्रस अभियानको मर्मलाई सम्मान र पालना गरी सहयोग गरिदिनुहुन रेडक्रसले अनुरोध गरेको छ ।