०३ असार २०८३, बुधबार

व्यापार घाटा सात खर्ब २३ अर्ब पुग्यो

माघ २१, २०८१
काठमाडौं
व्यापार घाटा सात खर्ब २३ अर्ब पुग्यो

मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव छ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव आठ प्रतिशत थियो ।

चालु आवको छ महिनामा कूल वस्तु निर्यात ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव दुई प्रतिशतले कमी आएको थियो ।
    
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६ दशमलव एक प्रतिशत, १९ दशमलव सात प्रतिशत र एक प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैँचीलगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक, जडीबुटीलगायत वस्तुको निर्यात घटेको छ ।

त्यसैगरी कूल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई आठ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा तीन दशमलव एक प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव नौ प्रतिशत, आठ दशमलव नौ प्रतिशत र नौ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।
    
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह बाहेक भैरहवा, विराटनगर, वीरगञ्ज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७६ अर्ब २५ करोड बराबरको भएको थियो ।

देशभित्र विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३  दशमलव पाँच प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको हो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत पुस मसान्तमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा १२ दशमलव एक प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई रु दुई खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ । 

आव २०८१/८२ को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । 

त्यसैगरी शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार, समीक्षा अवधिमा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको छ । 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु चार अर्ब ५४ करोड रहेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्