
इजरायलको शिक्षा मन्त्रालयले सोमबार शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) एकीकृत गर्न राष्ट्रिय पहलको अनावरण गरेको छ ।
उक्त योजनाले विद्यार्थी र शिक्षकलाई अत्याधुनिक एआई उपकरण र प्रशिक्षण कार्यक्रमसँग सुसज्जित गरेर शिक्षण र सिकाइलाई रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
शिक्षा मन्त्री योभ किशले भने, “आज हामीले विश्वव्यापी रूपमा एउटा अभूतपूर्व कदम चालेका छौं । शिक्षा प्रणालीलाई प्रमुख हाई–टेक कम्पनीहरूसँग जोड्दै इजरायली शिक्षक र बालबालिकालाई कृत्रिम बुद्धिमत्ताको तालिम दिन उक्त कदम चालेका छौं ।”
उक्त पहलमा कक्षा ४–१२ का विद्यार्थीहरूका लागि एक संरचित एआई पाठ्यक्रम समावेश छ, जसले सबै उमेर समूहहरूमा एआई अवधारणा र अनुप्रयोगहरूका लागि एक्सपोजर सुनिश्चित गर्दछ ।
गुगल, माइक्रोसफ्ट, एप्पल र एनभिडिया लगायतका ४०० भन्दा बढी प्रमुख हाई–टेक कम्पनीहरूबाट लगभग तीन हजार सल्लाहकारको तैनाती योजनाको मुख्य भाग हो । यी परामर्शदाताहरूले एआई प्रविधिहरू लागू गर्न र तिनीहरूलाई शैक्षिक आवश्यकता अनुरूप बनाउन विद्यालयहरूलाई सहयोग गर्नेछन् ।
उक्त पहललाई सहज बनाउन करिब ७० हजार शिक्षकसम्म पुग्ने गरी बृहत् स्तरको शिक्षक तालिम कार्यक्रम सञ्चालन गरिने इजरायली सरकारको भनाइ छ ।