२० असार २०८३, शनिबार

कतारमा नबिल बैंकको ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतनामूलक कार्यक्रम

माघ २२, २०८१
काठमाडौं
कतारमा नबिल बैंकको ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतनामूलक कार्यक्रम

नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए । कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जानकारी दिइएको थियो । 

त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे ।

राजदूत पौडेलले कार्यक्रम सम्बोधन गर्दै भने, 'आर्थिक सुरक्षाको लागि प्रवासी नेपालीहरूले आफ्नो रेमिट्यान्स सुरक्षित र व्यवस्थित रूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत पठाउनुपर्छ । यसले तपाईंहरूको मेहनतको सही संरक्षण गर्ने मात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।'

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरूको महत्वपूर्ण योगदान रहेकामा जोड दिए ।

कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उनले आफूहरू यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको बताए ।

जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फन्ड र शेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो । 

नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले भने, 'नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा, हामी विदेशमा श्रम गरिरहेका नेपालीहरूको ठूलो योगदानलाई सम्मान गर्छौं । हाम्रो उद्देश्य भनेकै तपाईंहरूको मेहनतको उचित सदुपयोग गर्दै, तपाईंहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने वित्तीय उपकरणहरू उपलब्ध गराउनु हो ।'​​

गैरआवासीय नेपाली संघ (एनआरएनए), कतारका अध्यक्ष रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिए ।

उनले भने, 'वित्तीय साक्षरताले दीर्घकालीन समृद्धिको ढोका खोल्छ। सचेत वित्तीय निर्णयहरू गरेर र बैंकिङ सेवा सही रूपमा उपयोग गरेर, हामी रेमिट्यान्सलाई दिगो लगानीमा रूपान्तरण गर्न सक्छौं, जसले हाम्रो परिवार र नेपालको अर्थतन्त्रलाई फाइदा पुर्‍याउँछ ।'

कार्यक्रमको सफलताका लागि नेपाल व्यवसाय संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको महत्त्वपूर्ण योगदान रहेको थियो । कार्यक्रमको अन्त्यमा स्ट्यान्डअप कमेडियन सुमन काकीले प्रस्तुति दिएका थिए ।

नबिल बैंकले लामो समयदेखि कतारमा रहेका नेपाली श्रमिकलाई नेपालमा पैसा पठाउनका लागि सेवा प्रवाह गर्दै आएको छ । कतारबाट श्रमिकहरूले पठाएको पैसा नेपालका कुनै पनि बैंक खातामा तुरुन्तै जम्मा गर्न सकिन्छ ।

साथै उनीहरूले पठाएको रेमिट्यान्स मुलुकका विभिन्न स्थानमा रहेका २० हजारभन्दा बढी नबिल रेमिटका एजेन्टबाट सहजै प्राप्त गर्न सकिन्छ । बैंकले रेमिट्यान्स पठाउने ग्राहकका लागि विशेष बचत खाता, डिजिटल बैंकिङ सुविधा तथा सरल ऋण सेवा प्रवाह गरिरहेको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाहरूको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ ।

बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्