
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् ।
बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।
विगतका कमीकमजोरीलाई समीक्षा गरेर माओवादी केन्द्र अगाडि बढेको हुँदा वडा तहबाटै सङ्गठन राम्रो हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ । पछिल्लो समय सात वटै प्रदेशबाट माओवादी केन्द्रमा आउने नेता तथा कार्यकर्ताको सङ्ख्या ठूलो रहेको भन्दै उनले अब पहिलो पार्टी बन्न धेरै समय नलाग्ने दाहालले दाबी गरे ।
पछिल्लो समय माओवादीका लागि ठूलो अवसर आएको भन्दै अध्यक्ष दाहालले सरकारलाई सही बाटोमा ल्याउन विपक्षी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेकाले कार्यकर्ताले राम्रो कामको प्रचार गर्नुपर्नेमा उनको जोड छ ।