३० असार २०८३, मंगलबार

विदेशमा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति

माघ २२, २०८१
काठमाडौं
विदेशमा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति

ओमानस्थित नेपाली दूतावासको पहलमा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिएको छ।

नेपाली दूतावास, मस्कटले जनवरी ३१ देखि फेब्रुअरी १ सम्म सलालामा आयोजना गरेको ‘राजदूतसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट-कन्सुलर सेवा’ सम्बन्धी विशेष कार्यक्रममा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति वितरण गरिएको हो। 

नेपाली श्रमिकहरूलाई सुरक्षित र कानूनी ढंगले कार्यरत राख्नका लागि दूतावासले थालनी गरेको यो कामलाई ओमानस्थित नेपाली समुदायले स्वागत गरेका छन्।

राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले संयुक्त रूपमा वैधानिकीकरण श्रम स्वीकृति वितरणको औपचारिक शुभारम्भ गरेका थिए। 

कार्यक्रममा राजदूत अर्यालले श्रमिकहरूको सुरक्षाका लागि राजदूतावास निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै, वैधानिकीकरण श्रम स्वीकृति सेवाले ओमानमा कार्यरत नेपाली श्रमिकहरूलाई झन् सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे। 

त्यस्तै, महानिर्देशक खत्रीले बिना श्रमस्वीकृति विदेशमा कार्यरत हुनु गैरकानूनी भएकाले प्रत्येक श्रमिकले श्रम स्वीकृति लिनैपर्ने आवश्यकता रहेको स्पष्ट पारे।

ओमानको राजधानी मस्कटबाट करिब १,१०० किलोमिटर टाढा रहेको सलालामा राहदानी नवीकरण, वैधानिकीकरण श्रम स्वीकृति तथा अन्य आवश्यक सेवा प्रदान गरिएको छ।

टाढाका क्षेत्रमा रहेका नेपाली श्रमिकहरूले आफ्नै कार्यक्षेत्रमा बसेर यस्तो सेवा प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। 

अबदेखि नेपालबाट श्रम स्वीकृति नलिई ओमानस्थित कम्पनीहरूमा वैध रूपमा कार्यरत नेपाली श्रमिकहरूले मस्कटस्थित नेपाली राजदूतावासबाट नियमित रूपमा वैधानिकीकरण श्रम स्वीकृति प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्