३१ जेठ २०८३, आइतबार

गैँडा स्थानान्तरणको काम सकियो

माघ २२, २०८१
चितवन
गैँडा स्थानान्तरणको काम सकियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।

एउटा भाले गैँडा सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौली क्षेत्रबाट पूर्वी क्षेत्र स्थानान्तरण गरिएको हो । तीन वटा पोथी गैँडामध्ये एउटा नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट र दुईवटा पोथी गैँडा अमलटारी क्षेत्रबाट ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । उनका अनुसार आज साँझ पोथी गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि आन्तरिक स्थानान्तरणको काम सकिएको छ ।

स्थानान्तरण गरिएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । आज छोडिएको पोथी गैँडा अन्दाजी १३ वर्षको रहेको उनले जानकारी दिए । शनिबारदेखि गैँडा आन्तरिक स्थानान्तरणको काम गरिएको हो । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई  एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको थियो ।

विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । सो समितिले पश्चिम सेक्टरमा ६० प्रतिशत र पूर्वी सेक्टरमा ४० प्रतिशत गैँडा रहेको अनुमान गरिएको छ । स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्