२९ असार २०८३, सोमबार
आयातित ब्राण्डको दबदबा

बजारमा विदेशी लुब्रिकेन्टको वर्चस्व, खुम्चियो स्वदेशी उत्पादन

माघ २४, २०८१
काठमाडौं
बजारमा विदेशी लुब्रिकेन्टको वर्चस्व, खुम्चियो स्वदेशी उत्पादन

झन्डै २५ वर्षदेखि अटोमोबाइल्स वर्कशप क्षेत्रमा काम गर्दै आएका राम श्रेष्ठ पूर्णरूपमा आयातित लुब्रिकेन्ट प्रयोग गर्छन् । ललितपुरको कुपनडोलस्थित राम मर्मत मोटरसाइकल वर्कशपका सञ्चालक श्रेष्ठ ग्राहककै मागअनुसार आयातित लुब्रिकेन्ट प्रयोग गर्नु परेको बताउँछन् । 

नेपाली ब्राण्डको लुब्रिकेन्ट ग्राहकले प्रयोग नै गर्न नखोज्ने भएकाले विदेशीको भर पर्नु परेको उनको भनाइ छ । ‘हाम्रो वर्कशपमा सबै भारत, दुबईलगायत विदेशी मुलुकबाट आउने लुब्रिकेन्टहरू बिक्री हुन्छ’, उनले भने, ‘नेपाली लुब्रिकेन्टको माया नभएर होइन, ग्राहकले जे खोज्यो त्यही बिक्री गर्ने हो । नेपाली त कसैले प्रयोग नै गर्दैनन् भन्दा फरक पर्दैन ।’

नेपाली लुब्रिकेन्टले आफ्नो बजार आफैं बिगार्दै लगेको उनको बुझाइ छ । ७० प्रतिशत भारतीय र २० प्रतिशत दुबईलगायत राष्ट्रहरूबाट आयात हुने लुब्रिकेन्ट बिक्री हुने गरेको ललितपुरको सानेपास्थित यादव वर्कशपका सञ्चालक अजयकुमार यादव बताउँछन् । यादवका अनुसार वर्कशपमा १० प्रतिशतको हाराहारीमा मात्रै नेपाली लुब्रिकेन्ट बिक्री हुने गरेको छ । 

‘नेपाली लुब्रिकेन्ट सस्तो हुँदा पनि उपभोक्ताले रुचाउँदैनन् । पहिलो कुरा क्वालिटी पनि राम्रो नभएको उपभोक्ता नै बताउने गर्दछन्’, उनले भने, ‘हामीले यो नै प्रयोग गर्नुपर्छ भनेर भन्न मिल्दैन । विदेशी लुब्रिकेन्टहरू मात्रै रुचाइने गरिन्छ ।’ 

नेपालीले नै नेपाली उत्पादनमा विश्वास नगरेर विदेशी उत्पादन हाबी भएको १५ वर्षदेखि सवारी मर्मत क्षेत्रमा काम गर्दै आएका सन्तोष दाश बताउँछन् । 

डेढ दशकसम्म अटो वर्कसप क्षेत्रमा काम गर्दा नेपालीले विदेशी उत्पादनमा आँखा बन्द गरेर विश्वास गर्ने गरेको उनको भनाइ छ । आरएसएस वर्कसपका सञ्चालक दाश ९५ प्रतिशत विदेशी लुब्रिकेन्ट प्रयोग गरिने गरेको बताउँछन् । दाशका अनुसार नेपाली लुब्रिकेन्टहरू मुस्किलले ५ प्रतिशत जाने गरेको छ । 

‘मैले यस क्षेत्रमा काम गर्दा अनुभव गरेको कुरा के हो भने नेपालीहरूले नै नेपाली प्रोडक्टमा विश्वास गर्दैनन्’, दाशले भने, ‘तर विदेशी प्रोडक्टमा आँखा बन्द गरेर विश्वास गर्ने गरेको पाइन्छ । भारतीय ब्राण्ड भनेपछि सबैले विश्वास गर्छन् तर, नेपाली उत्पादनभन्दा नकारात्मक दृष्टिकोबाट हेर्ने गरेका छन् ।’ 

काठमाडौं उपत्यकाभित्र मात्रै नभएर उपत्यका बाहिर पनि त्यत्तिकै मात्रामा विदेशी ब्राण्डहरू प्रयोग हुने गरेको छ । चितवनस्थित गणेश अटो वर्कशपका सञ्चालक अदित  राजवंशी ८० प्रतिशतसम्म विदेशी ब्राण्डका लुब्रिकेन्टहरू प्रयोग हुने गरेको बताउँछन् । उनको अटो वर्कशपमा १० देखि २० प्रतिशतसम्म नेपाली लुब्रिकेन्टहरू प्रयोग हुन्छ । 

‘अधिकांश विदेशी ब्राण्डका लुब्रिकेन्टहरू नै प्रयोग हुने गर्दछन् । अधिकांश प्राइभेट गाडीहरूमा महँगा र ब्राण्डेड लुब्रिकेन्टहरू प्रयोग हुन्छन्’, उनले भने, ‘लगभग ८० प्रतिशत विदेशी ब्राण्ड प्रयोग हुन्छ भने १० देखि २० प्रतिशत नेपाली लुब्रिकेन्ट प्रयोग हुन्छन् ।’

बुटवलस्थित मदन अटो वर्कशपका सञ्चालक मदन यादव शत प्रतिशत विदेशी ब्राण्डका इन्जिन आयल प्रयोग हुने गरेको बताउँछन् । तर, ब्रेक आयल र ग्रिज भने नेपाली ब्राण्डकै प्रयोग हुने गरेको उनको भनाइ छ । 

‘इन्जिन आयल शतप्रतिशत नै विदेशी ब्राण्डकै प्रयोग हुन्छन् । तर, ग्रिज र ब्रेक आयलहरू भने नेपाली ब्राण्डकै प्रयोग हुने गर्दछन्’, उनले भने, ‘ठुला सवारी साधनहरूमा पनि नेपाली ब्राण्डको हिस्सा निकै कम हुन्छ ।’ 

चितवनस्थित जावेद अटो वर्कशपका सञ्चालक सदिक शेख  ७५ प्रतिशत विदेशी ब्राण्डको र २५ प्रतिशत नेपाली ब्राण्डका लुब्रिकेन्टहरू प्रयोग हुने गरेको बताउँछन् । अधिकांश लुब्रिकेन्टहरू भारतीय ब्राण्डको बढी प्रयोग हुने गरेको उनको भनाइ छ । 

‘२५ प्रतिशतसम्म नेपाली लुब्रिकेन्टहरू प्रयोग हुने गर्दछन् तर, अधिकांश विदेशी नै प्रयोग हुने गर्दछन्’, उनले भने, ‘त्यसमा पनि भारतीय ब्राण्डहरू बढी प्रयोग हुन्छन् ।’ 

इन्टरनल कम्बसन इन्जिन (आइसीई)बाट सञ्चालित सवारी साधनका लागि लुब्रिकेन्ट आवश्यक हुन्छ । यसमा पनि ब्रेक आयल, ग्रिज, इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयललगायत थुप्रै लुब्रिकेन्ट हुने गर्दछन् । सवारी साधनहरूका साथै ठुला अर्थात् हेवी मेसिनरीहरूमा लुब्रिकेन्टको प्रयोग हुने गर्दछ । लुब्रिकेन्टको बजार हिस्सा निकै बलियो र सदाबहार मानिन्छ । 

नेपालमा २० प्रतिशत ‘वर्ल्ड क्लास प्रमियम’ खालका लुब्रिकेन्ट भित्रिने गर्दछन् भने भारतबाट मिडियम र सस्तो खालका ५० प्रतिशत भित्रिने गरेको छ । बाँकी ३० प्रतिशत लुब्रिकेन्ट नेपालमै उत्पादन हुने गरेको व्यवसायीहरू बताउँछन् । 

नेपालमा सबैभन्दा बढी प्रयोग हुने मिडियम खालका लुब्रिकेन्ट अधिकांश भारतबाट भित्रिने गरेका छन् । त्यसबाहेक प्रिमियम खालका लुब्रिकेन्टहरू दुबई जर्मनी, साउथ कोरिया, चीनलगायत २२ राष्ट्रहरू आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । कम गुणस्तर र सस्तो खालका लुब्रिकेन्टहरू पनि भारतबाटै भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । 

नेपालमा पीएलओ, कन्ट्रोल एमबी ल्युब र सुपरब, युनाइटेडगरी एक दर्जन बढी स्वदेशी लुब्रिकेन्ट उत्पादनहरू छन् । एकातिर विदेशी ब्राण्डहरूको चर्को प्रतिस्पर्धाबीच नेपाली ब्राण्डहरू खुम्चिँदै गइरहेका छन् भने पछिल्लो समय बढ्दै गएको विद्युतीय सवारीको प्रयोगले पनि लुब्रिकेन्टको बजारमा केही प्रभाव पर्ने देखिन्छ । यद्यपि विद्युतीय सवारी साधनहरूमा लुब्रिकेन्टहरू प्रयोग नहुने भन्ने होइन तर, इन्धन सवारीभन्दा निकै कम प्रयोग हुन्छ ।

यातायात ईभीमा सिफ्ट भए पनि हाइड्रोपावर र ठुला निर्माणको काम बढ्दै जाँदा नेपाली लुक्रिकेन्टको बजार झन् बढ्दै जाने नाडा अटोमोबाइल्स एसोसिएसनको लुब्रिकेन्ट कमिटीका सभापति सुरेन्द्र कुमार उप्रेती बताउँछन् । उनका अनुसार नेपाली लुब्रिकेन्टले नेपाली बजारमा राम्रो हिस्सा बनाइरहेको छ । 

विद्युतीय सवारी साधनहरूको प्रयोग बढ्नु र ठुला आयोजनाहरूको काम नहुनुले लुब्रिकेन्टको खपतमा प्रभाव परिरहेको ‘केस्ट्रोल’ लुब्रिकेन्टको नेपाली बिक्रेताका मार्केटिङ प्रमुख अमर ज्योति रञ्जित बताउँछन् । 

‘सवारी साधनका साथै विकासका क्षेत्रहरूमा लुब्रिकेन्टको खपत हुने हो । निर्माण क्षेत्रमा प्रयोग हुने हेवी इक्पुपमेन्टहरूमा लुब्रिकेन्टको खपत हुने गर्दछ । जुन अहिले निर्माण क्षेत्र चलायमान नहुँदा लुब्रिकेन्टमा त्यसको प्रत्यक्ष असर परिरहेको छ’, उनले भने, ‘यसका साथै इभीको प्रयोग बढ्नाले पनि लुब्रिकेन्टको खपत केही घटाएको छ र अझै केही घट्ने देखिन्छ ।’

किन लोकप्रिय बन्न सकेनन् स्वदेशी लुब्रिकेन्टहरू ? 
नेपालमा लुब्रिकेन्ट उद्योगहरूले बाहिरबाट बेस आयल अर्थात् कच्चा आधारभूत तेल आयात गर्ने गर्दछ । यसमा पनि ‘एसएन ५००’ र ‘एसएन ४००’लाई लुब्रिकेन्ट उत्पादन गर्ने कच्चा तेलमा उपयुक्त मानिन्छ । यी दुवै प्रकारका कच्च तेल आयात गरेर नेपालमा लुब्रिकेन्टहरू बन्ने गर्दछन् । 

कच्चा तेल ‘बेस आयल’मा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ भने प्याकिङ अर्थात् तयारी लुब्रिकेन्टमा ३० प्रतिशतको भन्सार शुल्क लाग्ने गरेको छ । तर, खुल्ला सिमानाबाट अवैध रूपमा १० प्रतिशत लुब्रिकेन्ट भित्रिने गरेको व्यवसायीहरूको भनाइ छ । 

नेपाली उपभोक्तामा विश्वासको वातावरण बनाउन नसक्नुले नेपाली लुब्रिकेन्टहरूले बजारमा बलियो स्थान बनाउन नसकेको राम मोटरसाइकल वर्कशपमा सञ्चालक राम श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार नेपाली उत्पादकहरूले बजार बनाउन सकेका छैनन् ।

‘नेपालीहरूले आफ्नो बजार आफैं बिगारेका हुन । उत्पादन मात्रै गर्छन् । बजारमा नियमित आइरहने, फलोअप छैन । विदेशी ब्राण्डहरूले प्रतिस्पर्धा गरिरहेका छन्’, श्रेष्ठले भने, ‘तर नेपाली प्रोडक्टहरूको बजारमा गतिविधि खासै छैन ।’ 

सामाजिक सञ्जालबाट उत्प्रेरित वर्गले गर्दा पनि नेपाली उत्पादनप्रति मानिसहरूको नकारात्मक दृष्टिकोण बनेको १५ वर्षदेखि वर्कशपमा काम गर्दै आइरहेका सन्तोष दाश बताउँछन् । 

‘टिकटक, फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा केही नजान्नेहरूले पनि ब्राण्ड प्रमोसन गरिरहेका हुन्छन्’, दाश भन्छन्, ‘नेपालीहरू त्यही विश्वास गरेर आउँछन् । आफैं सोच्ने, आफैंले बुझ्ने निकै कम छन् । अधिकांश सामाजिक सञ्जालबाट प्रेरित छ । जे सुन्यो त्यही खोज्ने गर्छन् ।’

नेपाली लुब्रिकेन्टले मार्केटिङ गर्न नसकेको चितवनका अदित राजवंशी बताउँछन् । बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यमा नेपाली उत्पादन बजारमा आउन नसक्दा विश्वासको वातावरण बन्न नसकेको उनको भनाइ छ । 

‘सबैभन्दा पहिला बेस आय बन्ने राष्ट्रमा बनेको लुब्रिकेन्टमा बढी विश्वास र उत्कृष्ट क्वालिटी हुने मानिन्छ’, उनले भने, ‘नेपालमा बेस आयल बन्दैन । सबै बाहिरबाट आयात गर्ने हो । त्यसले गर्दा पनि नेपाली उत्पादनमा गुणस्तर हुँदैन भन्ने हुन्छ । नेपाली कम्पनीहरूले बहुराष्ट्रिय कम्पनीहरूसँग सहकार्य गरेर बजारमा आउनुपर्छ ।’ 

एउटा मोटामोटी हिसाब हेरौँ, जुन मोटरसाइकल वर्कशपमा काम गर्दै आएका सन्तोष यादवले गरेका हुन् । 

एउटा दुई पाङ्ग्रे सवारी अर्थात् मोटरसाइकल सरदर वार्षिक २५ हजार किलोमिटर गुड्छ । प्रत्येक ३ हजार किलोमिटरमा सर्भिसिङ गराउनुपर्छ भने २५ हजार किलोमिटर गुड्दा ८ पटक सिभिर्सिङ गराउनुपर्छ । एउटा मोटरसाइकल वर्षमा ४ पटक सर्भिसिङमा जान्छ । एक पटक सर्भिसिङ गराउँदा १ लिटर लुब्रिकेन्टका दरले हिसाब लगाउँदा ८ लिटर लुब्रिकेन्ट खपत हुन्छ । सरदर ६ सय रुपैयाँका दारले हिसाब लगाउँदा वार्षिक ४ हजार ८ सय रुपैयाँ लुब्रिकेन्टमा खर्च हुन्छ ।

यसमा अन्य सर्भिस पार्टसको खर्च समावेश गरिएको छैन । यो केबल सवारीमा प्रयोग हुने लुब्रिकेन्टको मोटामोटी हिसाब मात्रै हो । जुन सवारी साधन चलेसम्म निरन्तर चलिरहन्छ । 

वार्षिक रूपमा नेपालमा १२ अर्ब रुपैयाँ बढीको लुब्रिकेन्टको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् । जसमा ५ अर्ब हाराहारी नेपाली लुब्रिकेन्टले हिस्सा ओगटेको छ । 

गत आर्थिक वर्षमा झन्डै ३२ हजार किलोलिटर लुब्रिकेन्ट नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । वार्षिक रूपमा नेपालमा झन्डै ३४ हजार किलो लिटरसम्मको लुब्रिकेन्ट आयात भएको पुरानो तथ्याङ्कमा देखिन्छ । 

नेपालमा बंगलादेश, बेल्जियम, क्यानडा, चीन, फ्रान्स, जर्जिया, जर्मनी, भारत, इटाली, जापान साउथ कोरिया, नेदरल्याण्ड्स, कतार, सिङ्गापुर, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका गरी २२ राष्ट्रबाट विभिन्न प्रकारका लुब्रिकेन्टहरू भित्रिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्