१६ असार २०८३, मंगलबार

तीन दिनयता वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

माघ २६, २०८१
काठमाडौं
तीन दिनयता वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।

गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूह मै पसेका जङ्गली हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन् । पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।

बिहीबार रातीमात्र हात्तीले गौशाला–८ ढल्केबरमा पाँच/सातवटा गोठघर भत्काइ दिएको छ । गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पुर्‍याएको छ । जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन् ।

अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर  जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपाल बताउँछन् ।

जङ्गली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आएपनि यसको समाधान भने हुन सकेको छैन । हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर विचल्ली बनाएको थियो । त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन् ।

यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो । कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ । पाँच वर्षअघि हात्तीले ढल्केबरमा घर भत्काएर मान्छेलाई सुँडले तान्दै पछारेर मारेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्