
प्रहरीमाथि आक्रमण र अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी ठेगाना भई हाल लैनचौर नै बस्ने २२ वर्षीय रमेश फुलारा रहेका छन्।
उनीहरूलाई आइतबार काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रबाट पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी, एसपी अपीलराज बोहराले जानकारी दिए ।
उनीहरूले माघ २४ गते काठमाडौंको ठमेलस्थित सार्वजनिक सडकमा ५/६ जनाको समूहमा होहल्ला गर्दै हिँडिरहेका बेला प्रहरी वृत्त दरबारमार्गको क्यूआरटी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीमाथि जाइलागेका थिए । उनीहरूले प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।
पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।