
सुर्खेतको पश्चिम क्षेत्रमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने १२ किलोमिटर सडक कालोपत्रे गर्न प्रदेश सरकारले टेण्डर आह्वान गरेको लामो समय भइसकेको छ । तर, अहिलेसम्म पनि कालो पत्रेको काम सकिएको छैन ।
बड्डीचौर–बिम्रेनी–बाबियाचौर–विद्यापुर सडक निर्माणको जिम्मा लिएको अनक/जयदेवि जेभीको ढिलासुस्तीका कारण कालो पत्रेको काम नसकिएको हो । यही गतिमा काम गर्दा आगामी दश वर्षमा पनि सडक नबन्ने स्थानीय बताउँछन् ।
१२ किलोमिटर सडक कालोपत्रे गर्न संघीय सांसद दिक्पालकुमार शाहीको निर्माण कम्पनीले ४२ करोड ४७ लाख ६१ हजारमा पूर्वाधार विकास कार्यालय सुर्खेतसँग २०७९ असार १४ गते सम्झौता गरेको थियो । उक्त सडक निर्माणको थप गरेको म्याद भने २०८२ साल असार १२ गतेसम्म छ ।
हालसम्म २० प्रतिशत भौतिक प्रगति र १७.९ प्रतिशत वित्तीय प्रगति गरेको जेभीले पेश्कीबाहेक सात करोड ६० लाख ७४ हजार लिइसकेको छ । अनक/जयदेवि जेभीको ढिलासुस्तीले अलपत्र परेको यो एउटा मात्रै सडक होइन ।
पश्चिम सुर्खेतमा रहेको कुइने–जामु–बाबियाचौर–भक्तरी–जंगल सडक पनि अनक/जयदेवि जेभीले अलपत्र पारेको छ । यो कम्पनी हाल सांसद शाहीका छोरा सन्देश शाहीले चलाउँदै आइरहेका छन् ।
अनक/जयदेवी र सनलाइट जेभीले निर्देशनालयसँग २०७८ जेठ १८ मा १० करोड ९२ लाख २४ हजारमा सडक निर्माण गर्ने सम्झौता गरेको थियो । २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएको भए पनि हालसम्म निर्माण कम्पनीले ४५ प्रतिशत मात्रै काम गरेको छ । यो सडक खण्ड आठ किलोमिटर रहेको छ । निर्माण कम्पनीले बड्डीचौर सडक खण्डमा बढीमा ४० जना मजदुरलाई मात्रै काम गराउँदै आएको छ भने एक मात्रै जेसीबी लगाएको छ ।

यसबीचमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री शेरबहादुर बुढादेखि प्रदेश सांसद एवम कर्णाली प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट हुँदै बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारीसम्मले सडक निर्माणमा तीव्रता दिन बारम्बारआग्रह गरेका छन् ।
यति मात्रै होइन प्रदेश सरकारले पश्चिम सुर्खेतका महत्वपूर्ण दुई सडक अलपत्र पार्ने सांसद शाहीको कम्पनीलाई कालो सूचीमा राख्ने चेतावनीसमेत दिएको थियो ।
तर, उनीहरूको आग्रहलाई बेवास्ता गर्दै निर्माण कम्पनीले बारम्बार म्याद थप गर्न मात्रै दबाब दिइरहेको छ ।

बड्डीचौर सडक खण्ड निर्माणमा कम्पनीका तर्फबाट इन्जिनियर संजीव शाह खटिएका छन् । पछिल्लो समय काममा तीव्रता दिइएको उनले बताए । ‘काममा तीव्रता आइरहेको छ । २० स्थानमा ग्याबिन निर्माण गर्नुपर्ने थियो । त्यसमा ४ हजार घनमिटर जाली भरिसकिएको छ भने चार हजार ग्याबिन जाली भर्न बाँकी छ,’ उनले भने । चार किलोमिटर सडक कालोपत्रे गर्न तयारी अवस्थामा रहेको उनले दाबी गरे ।
यता, पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक सूर्य शाहीले दुवै ठेक्काको शुरूको म्याद सकिइसकेको बताउँदै निर्माण कम्पनीले काममा तीव्ता दिएको बताए । ‘उहाँहरूलाई छिटो काम गर्न बारम्बार ताकेता गर्दै आइरहेका छौं,’ उनले भने, ‘तर हालसम्म पनि प्रगति नभएको पाइएको छ ।’
उनले यसबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री शेरबहादुर बुढाले बारम्बार चासो देखाए पनि निर्माण कम्पनीले सडक बनाउन चासो नदिएको गुनासो गरे ।

‘रुख नभएका स्थानमा सडक बनाउनुहोस् भनेका थियौं । बहानाबाजी गर्दै निर्माणमा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘अब अन्तिम पटकका लागि भनेर म्याद थप भएको छ । त्यसपछि प्रक्रियामा जानुपर्ने त होला नि ?’
यता, निर्माण कम्पनीका सञ्चालक सन्देश शाहीले बड्डीचौर सडक खण्डको आधा काम असार मसान्तभित्र गरिसक्ने दाबी गरे । ‘त्यो सडक खण्डमा अहिले काम शुरू गराएका छौं । आईई नहुँदा काम गर्न समस्या भएको थियो भने आर्थिक मन्दीले पनि हामीलाई समस्या भएको हो,’ उनले भने, ‘जंगलाघाटको सडक भने हामी चैत मसान्तसम्म निर्माण सक्छौं । त्यहाँ ग्राब्रेल मिलाउने काम अहिले भइरहेको छ ।’

यता, सोही क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसद एवम पूर्वआर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले काममा ढिलाइ हुदा नागरिकले सास्ती खेप्नुपरेको बताए ।
‘निर्माण कम्पनीलाई बारम्बार छिटो काम गर्न भन्दै आएको छु । ठेकेदारले सुन्दै सुन्दैनन्,’ उनले भने, ‘पश्चिम सुर्खेतको लाईफलाइन सडक भएकाले तत्काल निर्माण नभए वर्षायाममा लाखौं नागरिकले सास्ती झेल्नुपर्ने अवस्था आउँछ ।’