
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च बढी भएको भन्दै अमेरिकी मुद्रा डलरको सिक्का नछाप्न निर्देशन दिएका छन् ।
विशेष गरेर सेन्टको सिक्का उत्पादन गर्न लाग्ने बढ्दो लागतलाई मध्यनजर गर्दै नयाँ सिक्का (पेनी) नछाप्न उनले ट्रेजरी विभागलाई निर्देशन दिएका हुन् ।
'धेरै लामो समयदेखि अमेरिकाले एक सेन्टको सिक्का बनाउन २ सेन्टभन्दा बढी खर्च गरिरहेको छ । यो कति फजुल छ,' ट्रम्पले आइतबार राति आफ्नो ट्रुथ सोसल साइटमा लेखेका छन्, 'मैले अमेरिकी ट्रेजरीका सचिवलाई नयाँ सिक्का उत्पादन रोक्न निर्देशन दिएको छु ।'
ट्रम्पको यो कदम उनको नयाँ प्रशासनले आप्रवासन, लैंगिक र विविधता तथा मेक्सिको खाडीको नामसम्बन्धी विषयमा कार्यकारी आदेश र घोषणामार्फत व्यापक परिवर्तन ल्याउने प्रयासको नवीनतम् कडी हो ।
ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा 'पेनी' हटाउने इच्छा व्यक्त गरेका थिएनन् । तर एलन मस्कको 'सरकारी दक्षता विभाग'ले गत महिना सामाजिक सञ्जाल एक्समा पेनीको लागतबारे पोस्ट गर्दै यसको सम्भावना उठाएको थियो ।
अमेरिकी ट्रेजरी विभागले गत सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्ष २०२४ मा उत्पादन गरेको करिब ३ दशमलव २ अर्ब डलर बराबरको पेनीमा ८५ दशमलव ३ मिलियन डलर घाटा भएको जनाएको छ । प्रत्येक पेनीको लागत गत वर्षको शून्य दशमलव ०३१ डलरबाट बढेर लगभग शून्य दशमलव ०३७ डलर पुगेको छ ।
उक्त विभागले निकेलबाट बन्ने सिक्का बनाउन पनि घाटा बेहोरिरहेको छ । जसमा, ५ सेन्टको सिक्का बनाउन लगभग १४ सेन्ट खर्च लाग्छ ।
ट्रम्पसँग सिक्का हटाउने एकतर्फी अधिकार छ कि छैन भन्ने स्पष्ट छैन । मुद्राका विशेषता, सिक्काको आकार र धातुको मात्रा अमेरिकी कंग्रेसले निर्धारण गर्छ ।
तर नर्थइस्टर्न विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक रोबर्ट के.ट्रिएस्टले यसमा केही छुट हुनसक्ने तर्क गरेका छन् ।
'अमेरिकामा पेनी बन्द गर्ने प्रक्रिया अलि अस्पष्ट छ । यसका लागि कंग्रेसको कानून आवश्यक पर्ला, तर ट्रेजरी सचिवले नयाँ पेनी नछाप्न सक्छन्,' उनले गत महिना भनेका थिए ।
कंग्रेसका सदस्यहरूले जिंकको सिक्कामा तामाको लेप लगाउने विषयमा पटक-पटक विधेयक पेस गरेका छन् ।
कंग्रेसनल रिसर्च सर्भिसका अनुसार विगत वर्षमा पेनीको उत्पादन अस्थायी रूपमा निलम्बन गर्ने, यसलाई चलनचल्तीबाट हटाउने वा मूल्यलाई नजिकको पाँच सेन्टमा राउन्ड गर्न आवश्यक बनाउने प्रस्ताव आएका छन् ।
सिक्का हटाउने पक्षधरले लागत बचत, नगद रजिस्टरमा छिटो भुक्तानी र धेरै देशले पहिले नै आफ्नो एक सेन्टको सिक्का हटाइसकेको तथ्यलाई उल्लेख गरेका छन् । उदाहरणका लागि क्यानडाले २०१२ मा सिक्का छाप्न बन्द गरेको थियो ।
ट्रम्पको नयाँ प्रशासन खर्च कटौतीमा तीव्र रूपमा केन्द्रित छ । यस कार्यको नेतृत्व गर्न ल्याइएका मस्कले २ खर्ब डलर बचतको लक्ष्य पहिचान गर्न खोज्दै सम्पूर्ण एजेन्सी र संघीय कर्मचारीको ठूलो हिस्सालाई लक्षित गरिरहेका छन् ।