
काठमाडौँ, ६ मङ्सिर - मोबाइलको पहुँच बढेसँगै पछिल्लो समय नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा पनि व्यापक वृद्धि आएको छ । दूरसञ्चार सेवा प्रदायकबीच बढ्दो सेवा विस्तारको प्रतिस्पर्धाले पनि इन्टरनेटमा आम मानिसको पहुँच बढाइरहेको छ । यसबाहेक इन्टरनेट सेवा प्रदायकले व्यापार प्रवद्र्धन रणनीतिअन्तर्गत सञ्चालन गरेका विभिन्न प्याकेजले पनि इन्टरनेट प्रयोगकर्ता थप गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार पनि इन्टरनेट बजारमा मासिक तीन लाख प्रयोगकर्ता थपिँदै आएका छन् । इन्टरनेटको बढ्दो बजारबीच पनि प्राधिकरणकै पछिल्लो तथ्याङ्क भने केही फरक छ । अर्थात् पहिलोपटक मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या घटेको छ ।
प्राधिकरणले हालै सार्वजनिक गरेको भदौ महिनासम्मको प्रतिवेदन अनुसार देशभर एक करोड ६३ लाख १६ हजार व्यक्ति इन्टरनेटको पहुँचमा छन् ।
यो कुल जनसङ्ख्याको ६१.५८ प्रतिशत हो । यसमध्ये एक करोड ५६ लाख ३५ हजारले मोबाइलबाट इन्टरनेट चलाउँछन् तर त्यसको एक महिनाअघि अर्थात् साउन महिनासम्म कुल जनसङ्ख्याको ६१.९९ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । साउनसम्म मोबाइल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ५७ लाख ४८ हजार थियो, गोरखापत्रमा खबर छ ।
तथ्याङ्क अनुसार मोबाइलमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेका तीन सेवा प्रदायकमध्ये एनसेलका प्रयोगकर्ता घटेका छन् । साउनसम्म एनसेलका ७४ लाख सात हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेकोमा यो सङ्ख्या घटेर भदौमा ७१ लाख ८३ हजार पुगेको छ । यसबीचमा एनसेलका करिब दुई लाख मोबाइल इन्टरनेट प्रयोगकर्ता घटेको तथ्याङ्कले देखाउँछ ।