२४ जेठ २०८३, आइतबार

हाम्रो संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइसकेको छैन : प्रचण्ड

फागुन १, २०८१
काठमाडौं
हाम्रो संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइसकेको छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'जनयुद्ध'ले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भइनसकेको स्वीकार गरेका छन् । ३०औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धिहरूको समीक्षा र आगामी कार्यभारबारे स्पष्ट पारेका हुन् । 

शान्ति प्रक्रियामा प्रवेश गरेपछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने प्रचण्डले बताएका छन् । उनले अझै पनि दलित समुदायमाथि विभेद कायमै रहेको, महिलाहरू पूर्ण रूपमा स्वतन्त्र हुन नसकेको, संघीयता संस्थागत हुन बाँकी रहेको तथा समावेशिता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै यी चुनौतीहरू समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

'आज हामीले के हासिल गर्यौं र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो । हाम्रो संघर्षले व्यवस्था बदलियो तर जनताको अवस्था बदल्ने हाम्रो कार्यभार भने अझै पूरा भइसकेको छैन,' उनले भनेका छन्, 'दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै छ । महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन् । संघीयता अझै संस्थागत भइसकेको छैन। समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं । हाम्रा सामु जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी छ ।'

प्रचण्डले जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, जनताले आफ्ना प्रतिनिधिहरूबाट संविधान निर्माण गर्न सफल भएको, राज्यसत्तामा उत्पीडित समुदायहरूको प्रतिनिधित्व सुनिश्चित भएको र तीन तहको सरकार स्थापना भएको बताएका छन् । साथै, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, महिला तथा दलितहरूको राजनीतिक सहभागिताजस्ता विषयहरू जनयुद्धकै प्रतिफल भएको उनले उल्लेख गरेका छन् । 

उनले नेपाली जनताले सामन्ती शोषण, विभेद र उत्पीडनविरुद्ध विद्रोह शुरू गरेको ऐतिहासिक दिनको स्मरण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

null
 

salt training

कमेन्ट गर्नुहोस्