
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दाङ र रुपन्देहीमा तीन जनालाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चन्द्र प्रसादले ती बालिकालाई सोही गाउँपालिका-४ बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् । उनीहरूलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले ती बालिकालाई मंगलबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।