२३ जेठ २०८३, शनिबार
देउवा क्याम्पमा शशांक

देउवाले विरासत बिसाउने पात्र खोजिरहँदा बूढानीलकण्ठमा बीपीपुत्रको ‘इन्ट्री’ !

फागुन ४, २०८१
काठमाडौं
देउवाले विरासत बिसाउने पात्र खोजिरहँदा बूढानीलकण्ठमा बीपीपुत्रको ‘इन्ट्री’ !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरासतको भारी कसलाई बिसाउँछन् भन्ने चासो व्यक्त भइरहँदा बीपीपुत्र डा. शशांक कोइराला औपचारिक रूपमा बूढानीलकण्ठ प्रवेश गरेका छन् । 

१३औं र १४औं महाधिवेशनमा देउवालाई अनौपचारिकरूपमा सघाएका शशांकले शुक्रबारदेखि आफूलाई संस्थापन (देउवा खेमा)कै नेताका रूपमा प्रस्तुत गरेका हुन् । 

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा फरक टीमबाट महामन्त्री उठ्दा शशांक देउवा पक्षमा खुलेका थिएनन् । तर, सहयोग गरेका थिए । फरक टीमबाट उठे पनि मतदानका बेला ‘एस’, ‘एस’ (शेरबहादुर र शशांक) शब्दावली निक्कै चर्चामा रहेको कांग्रेसका नेताहरू अहिले पनि सम्झन्छन् । जसको परिणाम सभापतिमा देउवा पहिलोपटक जित्दा, अर्को टीमबाट शशांक महामन्त्री बन्न पुगे । तर, शशांक जित्दा सभापतिमा सोही टीमका उम्मेदवार रामचन्द्र पौडेल पराजित भए । 

त्यसपछि मात्रै होइन, २०७८ मंसिरमा भएको १४औं महाधिवेशनमा समेत शशांक खुलेर आफ्नो परम्परागत कोइराला समूहमा लागेनन् । कतिसम्म भने पारिवारिक सदस्य डा. शेखर कोइराला सभापतिमा देउवासँग भिड्ने समीकरण बन्यो । तैपनि शशांक उनीतिर खुल्न सकेनन् । बरु अनौपचारिक रूपमा देउवालाई नै सहयोग गरिदिए । अनि देउवा फेरि जिते । तर, कांग्रेसमा अब सभापति देउवापछि विरासत बोक्ने नेताको खोजी भएको छ । यही बेला शशांक खुलेरै अर्थपूर्ण रूपमा देउवाको बूढानीलकण्ठस्थित निवासमा पुगेका हुन् । 

फाइल तस्वीर

शशांकको देउवाको निवास प्रवेशको औपचारिक समय पनि उत्तिकै अर्थपूर्ण छ । सभापतिमा  तेस्रोपटक दाबेदारी गर्न देउवाको निम्ति विधान बाधक छ । यही मौकामा महामन्त्री गगन थापा र शेखर कोइराला १५ औं महाधिवेशनको तयारीमा छन् । थापाले पार्टी कामसहित व्यक्तिगत तयारी अगाडि बढाएका छन् । शेखर पनि व्यक्तिगतरूपमा देशदौडाहाका व्यस्त कार्यक्रममा जुट्दैछन् ।

अर्कातिर समयमा उत्तराधिकारी नतोक्दा संस्थापन पक्षका नेताहरू पलायन हुने स्थितिमा पुगेका छन् । देउवा विस्तारै सत्ता र शक्तिबाट विमुख हुँदै जाने स्थितिको बुझाइ उनीहरूमा देखिन्छ । यसैले कतिपयले देउवानिकटकै प्रभावशाली नेताले नयाँ ध्रुवीकरणमा ओत लाग्ने ठाउँ खोजिरहेका छन् ।

अर्को पक्ष हाबी हुने तर बलियो संस्थापन रक्षात्मक बन्नुपर्ने अवस्था आएको भन्दै ११ नेता शुक्रबार बूढानीलकण्ठ पुगेका थिए । शुक्रबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी सहभागी थिए । 

यो सूचीका अधिकांश नेता वर्षौंदेखि देउवा टीममा खुलेका अनुहार हुन् । तर, कोर टीमको बैठक नै भनेर शशांक पहिलोपटक देउवा निवास पुगेको नेताहरू दाबी गर्छन् । 

यो सूचीका अधिकांश नेता वर्षौंदेखि देउवा टीममा खुलेका अनुहार हुन् । तर, कोर टीमको बैठक नै भनेर शशांक पहिलोपटक देउवा निवास पुगेको नेताहरू दाबी गर्छन् । 

यो बैठकको तयारी नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए । तर, उनको दाबी नेता विशेषलाई तोकेरै सभापतिले समूहको नेता घोषणा गर्नुपर्छ भन्ने थिएन । ‘बरु यो समूह एक ठाउँमा छ । यही टीममध्येबाट पार्टीको विरासत बोक्ने नेताको टुंगो लगाउनुपर्छ,’ भन्ने थियो । 

‘शेखर र गगन सभापतिमा हाबी हुनुभएको जस्तो देखिन्छ । अरू कसैको चर्चा नै छैन जस्तो पारिएको छ । तर त्यो होइन, हामी पनि छौं । हामी सबै तपाईंसँग जोडिएका छौं । साथ दिएका छौं/दिन्छौं । तपाईं अब लड्नुहुन्न । तर, १५ औं महाधिवेशनमा तपाईंको अभिभावकत्व हामीलाई चाहिएको छ’, सिटौलाले भनेका थिए, ‘विभिन्न पदमा हामी नेता विशेषको दाबी रहला । तर, पनि हामी एक ठाउँमै छौं । सबैलाई एकताबद्ध गरेर जानुस् । हामी १५ औंमा पनि एक रहन्छौं ।’ 

सिटौलाले मात्रै होइन, निधि, खड्का, प्रकाशमान र शशांकले समेत सो बैठकमा कुनै पदका लागि व्यक्तिगत इच्छा जनाएका थिएनन् । सिटौलाले ११ जना नेताहरू सँगै छौं र आगामी नेतृत्व पनि यही टीमबाट हुन्छ भन्ने ढाडसका शब्दमात्रै देउवाबाट खोजेका थिए । 

छोटो बोल्ने स्वभावका देउवाले पनि समय आएपछि यो टीमभन्दा बाहिरबाट निर्णय नगर्ने बताउँदै विश्वासमा लिन खोजेका थिए । 

‘यो टीमकै कारण हामी यहाँसम्म आएका हौं । यो पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई अझै सुदृढ बनाउनुपर्छ । यसका लागि तपाईंहरू सबै एकताबद्ध र सुदृढ हुनुपर्छ । टीमको महत्त्व अझै छ,’ देउवाले नेताहरूका कुरा सुनेपछि भनेका थिए, ‘अहिले तपाईंहरूले जे जिम्मेवारी पाउनुभएको छ, इमान्दारिताका साथ अगाडि बढ्नुस् । मैले अहिले नै सभापतिको उम्मेदवार को भनेर घोषणा गरेको छैन । महाधिवेशन नजिक आएपछि घोषणा हुन्छ । जो–जो भए पनि यही टीमबाट हुने हो, तपाईंहरू ढुक्क हुनुस् ।’ 

फाइल तस्वीर

यी मध्ये सभापतिमा नलडेका प्रभावशाली शशांक मात्रै हुन् । १३ औं महाधिवेशनमा सिटौला, १४ औं महाधिवेशनमा निधि र सिंह देउवासँगै पहिलो चरणमा भिडेका थिए । तर, तिनैजनाले केही मत मात्रै ल्याउँदै चुनावलाई दोस्रो चरणमा धकेल्ने भूमिका खेले । यसैले देउवासामु आफू नहुँदा जित्ने पात्रको खोजी गर्नुपर्ने चुनौती समेत छ । यसैले गुटबन्दीभन्दा माथि रहनुपर्छ भन्दै आएका शशांक पहिलोपटक देउवा निवासमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको हो ।

राजनीतिक विश्लेषक शंकर तिवारी पहिलेदेखि नै शशांकलाई नबिच्क्याउने देउवाको नीति रहेको बताउँछन् । 

‘देउवाको अघिल्लो र पछिल्लो महाधिवेशनमा नीति नै शशांकलाई नबिच्क्याउने, सुजातालाई दुरीमा नराख्ने र शेखरलाई महत्त्व नदिने भन्ने थियो,’ तिवारीले भने, ‘१४औं महाधिवेशनमा शेखरलाई देउवाले टीमको नेताको रूपमा महत्त्व दिए । शशांकलाई विश्वास राखे र सुजातासँग पनि दुरी बढाएनन् ।’ 

देउवाको यसै विश्वासले औपचारिकरूपमा नखुले पनि शशांकले मन्त्री भागबण्डा र राजकाजमा हिस्सा पाइरहेको तिवारीको भनाइ छ । पछिल्लोपटक शशांकले नै दीपक खड्कालाई मन्त्री बनाएको उनी बताउँछन् । देउवाले शेखरबाट दखल र शशांकबाट विश्वास पाइरहेको तिवारीको बुझाइ छ ।

‘कोशी प्रकरणपछि शेखरका अभिव्यक्ति र कदमबाट देउवाले आफूलाई प्रत्यक्ष दखल पुगेको महसुस गरे । त्यति नै बेला अझै महासमितिमा महामन्त्री गगन थापाको फरक मतसहितको प्रस्ताव अनुमोदित भएपछि र राजकाजमा गगनले सघाउन थालेपछि शेखर देउवाको उपेक्षामा परेका हुन्,’ तिवारी भन्छन्, ‘यसबीच देउवाले शशांकलाई महामन्त्री हुँदामात्रै होइन, नहुँदा पनि विश्वासमा राखिरहे । दुरी बढाएनन् । शशांकबाट कम्फर्ट मात्रै महसुस गरे ।’

शुक्रबार बूढानीलकण्ठमा शशांकलाई डाकिनुको कारण पनि अर्थपूर्ण रहेको तिवारी बताउँछन् ।  

‘शशांक यसअघि देउवाका भित्रिया सदस्य होइनन्,’ तिवारी भन्छन्, ‘तर, त्यति परको र आफ्नो टीममा एडजस्ट नहुने पात्र होइन भन्ने कुरा अस्तिको शशांकको औपचारिक बूढानीलकण्ठ गमनले पुष्टि गर्दछ ।’

पहिलोपटक सभापतिमा जितेदेखि नै अर्को पक्षले देउवालाई निरन्तर दबाबमा राख्ने काम गरेको थियो । तर, शशांक सभापति प्रणालीमा विरोध गर्न नहुने प्रस्ट लाइनमा उभिँदै आए । उनले कहिल्यै देउवाको कार्यशैलीको विरोध गरेनन् । बरु अनुकूल बनाइदिए ।

केही दिनअगाडि शशांकले पनि २०८४ को चुनावपछि महाधिवेशन गर्दा उपयुक्त हुने कुरा कांग्रेसभित्र बहसमा ल्याए, जुन प्रस्तावबाट खुशी हुने प्रमुख पात्र देउवा नै हुन् । 

देउवाले शुक्रबारको बैठकमा शशांकले नै २०८६ तिर महाधिवेशन गर्दा उपयुक्त हुने विषयमा बोलेको बताएका थिए । आफ्नो अनुकूलता अनुसार हिजो काम गरिदिने र आज बोलिदिने नेता भन्दै देउवाले शुक्रबारको बैठकमा शशांकलाई अप्रत्यक्ष समर्थन गरेको नेताहरू बताउँछन् । 

‘२०८६ मा महाधिवेशन गर्ने सभापतिको आफ्नो पनि चाहना होला । तर, गत शुक्रबार शशांकले नै बोल्नुभएको भनेर आफूअनुकूल बोलिदिने नेताको रूपमा प्रस्तुत गर्नुभएको थियो,’ ती नेताले भने, ‘जवाफमा शशांकले २०८२ मा सम्भव हुँदैन भने तीनवटा चुनावको प्रतिस्पर्धा र आन्तरिक असहयोगले असर नपरोस् भनेर चुनावपछि गर्दा उपयुक्त हुन्छ भनेर प्रस्ट्याउनु भएको थियो ।’ 

देउवा भित्री रूपले आफूजत्तिकै बलियो नेताले विरासत बोकोस् भन्ने चाहनामा छन् । यस्तोमा नेतृ एवं श्रीमती आरजु राणा देउवाको राजनीतिक भविष्य सुनिश्चित गराउने पात्रको खोजीमा समेत उनी छन् । बलियो भए शशांकबाहेकका नेतामा पनि देउवाले सोच्न सक्छन्, तर गगन र शेखर केही गरी फेरि नजिकिए भने आफ्नो पक्षबाट निकै बलियो उम्मेदवार चाहिन्छ भन्ने देउवालाई राम्रोसँग थाहा छ ।

शुक्रबार नेता विशेषभन्दा सामूहिक भेट भएको नेताहरू बताउँछन् ।

‘सभापतिले जति महत्त्व नदिए पनि प्राविधिक हिसाबमा नेता भएपछि शेखरले १४ औं महाधिवेशनमा चर्को प्रतिस्पर्धा गर्नुभएकै हो । पहिलो चरणमा मत नपुगेपछि दोस्रो चरणबाट नतिजा आएको हो,’ देउवानिकटकै एक नेता भन्छन्, ‘देउवाको ठूलो व्यक्तित्वको प्रभाव नहुनेबित्तिकै जत्ति संगठित मत भए पनि भोलि प्रतिस्पर्धामा नेताको अनुहार र व्यक्तित्व हेरिन्छ । यसैले बूढानीलकण्ठमा ११ भाइले संयुक्त रूपमा देउवासामु खोजेको अभिभावकत्व पनि यही शक्ति सामर्थ्यबोधको परिणाम हो ।’

फाइल तस्वीर

११ जना नेताले पछिल्लोपटक महामन्त्री गगन थापासँग सभापति देउवाको बढेको हिमचिमप्रति पनि प्रश्न उठाएका थिए । आफूहरूले दुःख र अप्ठ्यारोमा साथ दिएको उनीहरूको तर्क थियो । तर, अहिले गगनप्रति नरम बनेको भन्दै यही टीमबाट नै विकल्प खोज्न समेत उनीहरूले देउवालाई सतर्क गराएका थिए ।

यसैले भोलि देउवाले सभापतिको उम्मेदवार छान्दा व्यक्तिमात्रै हेरेर पुग्ने छैन । जित्न सक्ने विकल्प पनि हेर्नुपर्ने हुन्छ । यस्तोमा देउवाका लागि पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई छान्नुपर्ने स्थिति हुनेछ । संस्थापनबाट खड्का र सिटौलाको सभापतिमा बलियो दाबेदारी हुने देखिएको छ । तर, जित्ने विकल्प हेर्दा देउवाले शशांकलाई रोज्न सक्ने नेताहरू बताउँछन् । 

संस्थापनबाट खड्का र सिटौलाको सभापतिमा बलियो दाबेदारी हुने देखिएको छ । तर, जित्ने विकल्प हेर्दा देउवाले शशांकलाई रोज्न सक्ने नेताहरू बताउँछन् । 

‘दुःखमा साथ दिनुभयो भन्दै सभापतिले समय आएपछि यही टीमबाट सभापतिको उम्मेदवार घोषणा गर्छु भन्नुभयो । यो अहिलेदेखि नै नेताहरूलाई इन्गेज गर्ने रणनीति हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘शशांक बीपीका छोरा हुन्, जसमा ठूलो विरासत पनि छ । उनी सबैको कुरा सुन्ने धैर्यता राख्छन्, जुन अरूमा छैन । यसैले अन्ततः शशांक देउवाको विकल्प रोजाइ बन्ने सम्भावना धेरै छ ।’

खड्का, सिटौला, निधि र गच्छदारले शशांकलाई पनि सँगै बूढानीलकण्ठमा उभ्याउनु अर्को अर्थपूर्ण घटना भएको नेताहरू बताउँछन् । 

‘आफ्नो मात्रै शक्ति र सामर्थ्यमा विश्वास हुने थियो भने देउवासमक्ष नेताहरूले एक्लाएक्लै सभापतिका लागि निवेदन हाल्थे,’ कांग्रेसका एक नेता भन्छन्, ‘तर, वर्षौंसम्म राजनीतिमा भोटो फटाएकाले ११ भाइ नेताहरू एकअर्काको साथ विना जित्न सकिँदैन भन्ने समझका साथ शुक्रबार बूढानीलकण्ठमा पुग्नुभएको हो । यस्तोमा शशांकको पहिलो र औपचारिक उपस्थितिको झन् ठूलो अर्थ छ । समयसँगै यसको अन्तर्य खुल्नेछ ।’ 

शशांकनिकट स्रोतले पनि सबै सँगै जाऊँ भन्ने सल्लाह भएर बूढानीलकण्ठ गएको जानकारी दियो । ‘डाक्टरसाबको सधैँ एउटै कुरा हुन्छ, गुटबन्दीबाट माथि उठ्नुपर्छ । उहाँले हिजो महामन्त्री हुँदा पनि नहुँदा यही कुरा भन्दै आउनुभएको छ,’ शशांकनिकट स्रोतले भन्यो, ‘शुक्रबार पनि सबै नेताले जाऊँ न भनेपछि उहाँ जानुभएको हो ।’

कांग्रेस नेता डा. मीनेन्द्र रिजाल सभापतिले आफूलाई जिताउनेहरूको बैठक डाकेर राम्रो सन्देश नदिएको बताउँछन् ।

‘सभापति निवास बूढानीलकण्ठमा को नेता गए भन्दा पनि सभापतिले आफूलाई जिताउनेको बैठक गर्दा राम्रो सन्देश गएन,’ रिजालले भने, ‘आफ्नो अन्तिम कार्यकालमा रहनुभएका सभापतिले हिजो भोट हालेका र नहालेका सबै नेता/कार्यकर्तातिर ध्यान दिनुपर्ने हो, तर त्यस्तो गर्नुभएन ।’

पढ्नुहोस् यो पनि :

१५औं महाधिवेशन पर्खिरहेका शशांक
 

salt training

कमेन्ट गर्नुहोस्