३० जेठ २०८३, शनिबार

दोस्रो मेयर कप सोमबारदेखि हुने, छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालय सहभागी

फागुन ४, २०८१
बुटवल
दोस्रो मेयर कप सोमबारदेखि हुने, छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालय सहभागी

फूटबल विकास र व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बुटवलमा विद्यालय स्तरीय दोस्रो मेयर कप छात्र/छात्रा फूटबल प्रतियोगिता हुने भएको छ । सोमबारदेखि शुरू हुने प्रतियोगितामा फागुन १० गतेसम्म चल्नेछन् ।

बुटवल उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगिता चारपाला खेलमैदान र जबई खेल मैदानमा सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा छात्रतर्फ २५ विद्यालय र छात्रातर्फ १० विद्यालय सहभागी हुने बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । 

छात्रतर्फ प्रथम हुने विद्यालयले १ लाख र द्वितीय हुनेले ६० हजार पाउनेछन् ।

त्यस्तै छात्रातर्फ प्रथम हुने टिमले ५० हजार र द्वितीय हुनेले ३० हजार प्राप्त गर्नेछन् ।

खेलाडीलाई विधागततर्फ डिफेन्डर, स्ट्राइकर, उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर र गोल रक्षकलाई पनि जनही पुरस्कारको व्यवस्था गरिएको छ ।

गत वर्ष अक्सफोर्ड मावि विजेता भएको थियो । छात्र/छात्रा फूटबलका लागि उपमहानगरपालिकाले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

नगर प्रमुख खेलराज पाण्डेयले खेलकुदको क्षेत्रमा नगरपालिकाले ४ करोड रुपैयाँ छुट्टाएको बताए ।

‘हामी बुटवललाई खेलकुदको हब बनाउन चाहन्छौं,’ मेयर पाण्डेयले भने, ‘खेलकुदलाई बृहतर विकासका लागि विभिन्न योजनाहरू अघि सारिएको छ । क्रिकेट मैदान, एन्फा एकेडेमी, स्तरोन्नति भइरहेका छन् ।’

बुटवलको अर्को ठूलो फूटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपलाई ४० लाख रुपैयाँ विनियोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्