
नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा बेल्जियम पनि जनयुद्ध दिवस मनाएको छ । शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै शुरू गरिएको कार्यक्रममा जनयुद्धका उपलब्धि, परिवर्तनका सम्भावना र समसामयिक राजनीतिक परिप्रेक्ष्यबारे गहन छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा प्रमुख अतिथिहरूले माओवादी आन्दोलनका विभिन्न पक्षहरूको समीक्षा गरेका थिए ।
जनप्रगतिशील मञ्च बेल्जियमको उपाध्यक्ष मनिष गुरूङले उपस्थितहरूको स्वागत गर्दै जनयुद्ध दिवसको दिन नेपाली जनताले न्याय र समानताको लागि संघर्ष गरेको दिनका रुपमा चित्रण गरेका थिए।
कार्यक्रममा जनप्रगतिशील मञ्च बेल्जियमकी महासचिव कल्पना मगरले माओवादी आन्दोलनका उपलब्धिको चर्चा गर्दै जनयुद्धले ल्याएको संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताइन् ।
त्यसैगरी, जनप्रगतिशील मोर्चा युरोपमा सल्लाहकार विष्णु भुजेलले माओवादी आन्दोलनले सामाजिक समानता, न्याय, लैंगिक तथा वर्गीय विभेद हटाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा जनप्रगतिशील मञ्च युरोपका सल्लाहकार लोक दाहालले माओवादी आन्दोलन नेपाली इतिहासको एक महत्वपूर्ण परिघटना भएको बताए ।

जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदीले माओवादी जनयुद्ध नेपाली जनताको मुक्तिका लागि ऐतिहासिक संघर्ष रहेको बताए।
कार्यक्रममा जनप्रगतिशील मञ्च युरोपका सल्लाहकार सुरेन्द्र भुषालले जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गरेका जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौड्यालले जनयुद्धले देखाएको मार्गनिर्देशनलाई सही दिशामा लैजान, विचार, संगठन र संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए।
शुभकामना आदान, प्रदान कार्यक्रममा जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योगंहागं, जनप्रगतिशील मोर्चा युरोप सल्लाहकार राम गुरुङ, जनप्रगतीशील मंच यूरोप सल्लाहकार कृष्ण पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । बेल्जियम, पोर्चुगललगायत अन्य देशबाट आएका करिब दुई दर्जनभन्दा धैरै शुभेच्छुक तथा मोर्चा र मञ्चका सदस्यहरूको सहभागिता रहेको कार्यक्रम जनप्रगतीशील मोर्चाका अध्यक्ष मेख गुरूङले संचालन गरेका थिए ।