०१ असार २०८३, सोमबार

युनिफर्मसहितका फोटो-भिडिओ सामाजिक सञ्जालमा राखेको भन्दै १२० जना सशस्त्र प्रहरीलाई कारबाही

फागुन ६, २०८१
काठमाडौं
युनिफर्मसहितका फोटो-भिडिओ सामाजिक सञ्जालमा राखेको भन्दै १२० जना सशस्त्र प्रहरीलाई कारबाही

संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा तस्वीर तथा भिडिओ राखेको भन्दै १२० जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको छ । 

संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडिओ बनाई अपलोड गरेपछि उनीहरूलाई विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । 

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडिओ तथा तस्वीर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक,  एक्स (साविक ट्विटर), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गरिएको सशस्त्रका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताएका छन् । 

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारमा नकारात्मक टिकाटिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत कारबाही गर्दै आएको जनाएको छ । संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको डीआईजी न्यौपानेले बताए ।  

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्वीर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन पनि दिएको छ । 

फागुन ४ गते मातहत कार्यालयमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना र जवान २१ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्