
कर्तव्य ज्यान मुद्दाका फरार आरोपी १८ वर्षपछि पक्राउ परेका छन् । घटना सप्तरी हर्दिया गाविस–६ (हाल सुरुङ्गा नगरपालिका–२) को हो ।
२०६३ भदौ ८ गते स्थानीय ३५ वर्षीया फुलोदेवी यादवलाई छिमेकी शुभनारायण यादव र ब्रदीनाथ अधिकारी मिलेर विष सेवन गराई हत्या गरेको उजुरी प्रहरीमा परेको थियो । प्रहरीका अनुसार तत्कालीन समयमा फुलोदेवी अर्का एक जनासँग प्रेममा थिइन् । उनी प्रेमीसँग भागेर भारतमा तीन वर्ष बसिन् । २०६३ भदौ ७ गते उनी गाउँ नै फर्किएकी थिइन् ।
अन्तरजातीय विवाह गरेको भन्दै शुभ नारायाणले भदौ ८ गते पञ्चायत बसाए । गाउँलेहरूले झगडा नगर्न र छुट्टाछुट्टै बस्न आग्रह गरे । फुलोदेवीले प्रेमीसँग बस्न पाइनन् । आफ्नो पक्षमा निर्णय नभएपछि उनी एक्लै बस्न थालिन् ।
त्यहीबीचमा फुलोदेवी र उनका प्रेमीबीच सम्बन्ध बसिरह्यो । उक्त कुरा शुभनारायण र गाउँलेले थाहा पाए । एकातिर लोग्नेसँग छुट्टिएर बस्ने र अर्कोतिर सम्बन्ध बनाइराख्ने भन्दै फुलोदेवीमाथि गाउँलेले अपशब्द मात्रै बोलेनन्, गिज्याइरहे । शुभनारायणलाई पनि गाउँलेले गलत आचरण छाड्न भने ।
सोही वर्षको भदौ १८ मा अकस्मात फुलोदेवीको शव चहका खोलामा खाल्डोमा गाडेको अवस्थामा फेला पर्यो। शुभनारायणले साथी बद्रिनाथसँग मिलेर फुलोदेवीको शव पोष्टमार्टम नै नगरी अस्पतालबाट फुत्काए ।
उनीहरूले स्थानीय चहका खोलामा लगेर गाडेका थिए । उक्त जानकारी फुलोदेवीका प्रेमीले थाहा पाएपछि शुभनारायण र बद्रीनाथविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए । पक्राउ पर्ने डरले उनीहरू दुवै जना फरार भएका थिए ।
भागेर केही समय शुभनारायण र बद्रीनाथ भारतसमेत पुगेको प्रहरीले जनाएको छ । भारतमा केही वर्ष बसेपछि उनी गाउँ आसपासमै लुकेर बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाका अनुसार शुभनारायण र बद्रीनाथ लामो समय आफ्नो भेष र नाम बदल्दै छिमेकी जिल्ला सुनसरी, मोरङ र सिरहामा बस्दै आएका थिए ।
खेतबारीमा जसले काम लगाए पनि उनीहरू काम गर्दै जीवन पाल्दै आएका थिए । उनीहरू कहिलेकाहीं मात्रै गाउँमा आउजाउ गर्थे । प्रहरीले उनीहरूमाथि निगरानी गर्दै आएको थियो ।
यही फागुन ४ गते उनीहरू दुवै गाउँ आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको एसपी खतिवडाले जानकारी दिए । ‘यतिसम्मकी उनीहरूले आफूलाई शंका लागेको मान्छेसँग समेत नभेट्ने गरेको पाइयो,’ खतिवडाले भने, ‘कोही चीनजान बेगरका मान्छे देख्यो भने पनि प्रहरी होकी भनेर उनीहरू भाग्दै आएका थिए ।’
प्रहरीले पक्राउ परेका दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जानकारी खतिवडाले दिए । ‘प्रहरीमा शुभनारायण र बद्रीनाथविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेकाले अनुसन्धानको लागि उनीहरूलाई पक्राउ गरिएको हो,’ एसपी खतिवडाले लोकान्तरसँग भने, ‘फुलोदेवीको हत्या उनीहरूले नै गरेको हो वा होइन अनुसन्धानले खुलाउने पाटो भयो ।’