
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा देशको आयात र निर्यात दुवै बढेको छ ।
बिहीबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा देशको आयात–निर्यात दुवै बढेको देखाएको हो ।
चालू आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आवको ७ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँको वस्तु आयात भएको थियो । यो गत वर्षको तुलनामा १०.०९ प्रतिशतले बढी हो ।
त्यस्तै, माघ महिनासम्म नेपालबाट १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ वस्तु निर्यात भएको छ । गत वर्षको माघ महिनासम्म ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ वस्तु निर्यात भएको थियो । गत वर्षको तुलनामा निर्यात ४६.५ प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार माघ महिनासम्म देशको व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, आयात निर्यात रेसियो ७.७७ प्रतिशत रहेको छ ।
व्यापार घाटा पनि ६ दशमलव २० प्रतिशतले बढेको छ ।