
नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागितामा पृतनापति समन्वयात्मक बैठक शुरू भएको छ । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा बिहीबार शुरू भएको तालिम शुक्रबारसम्म चल्नेछ ।
बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट नेपाली सेना, नेपाली जनताको आस्था र भरोसाको धरोहरको रूपमा स्थापित भएको बताए ।
उनले विश्वको बदलिँदो भू-राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वले हाम्रो देशमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताउँदै जलवायु परिवर्तनबाट सिर्जित चुनौतीहरू, प्रविधि लगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा प्रधानसेनापति अशोक राज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका अन्तर्निहित कार्य सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताए ।
उनले हालको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार-चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सृजना हुने सम्भावना रहेको उल्लेख गरे ।
प्रधानसेनापति सिग्देलले भविष्यका सुरक्षा चुनौतीलाई सामना गर्न विभिन्न रणनीति तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपाय पहिल्याउन सम्मेलन सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।
नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको दौरान सहभागीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझाव प्रस्तुत गर्ने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, निमित्त रक्षा सचिव एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।