
सिरहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी शदायमाथि भएको सामूहिक बलात्कारको घटनालाई पञ्चायत बसेर लेनदेनमा टुंग्याएको पाइएको छ ।
पञ्चायतले यो विषयलाई लेनदेनमा टुंग्याएपछि रिंकुको रहस्यमय ढंगले मृत्यु भएको थियो । गत माघ २६ गते राति रिंकुमाथि ३ जनाले सामूहिक बलात्कार गरेको आरोप छ ।
रिंकुले नै माघ २७ गते बिहान आफ्नी आमा सीतादेवीलाई गाउँकै रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले सामूहिक बलात्कार गरेको बताएकी थिइन् ।
खासै नपढेकी सीताकुमारीले आफ्नी छोरी बलात्कृत भएको जानकारी आफन्त रामसेवकलाई समेत दिइन् ।
रामसेवकले लोकान्तरलाई बताएअनुसार यो घटनाका बारेमा गाउँभरि हल्ला भयो । गाउँलेले पञ्चायत बसेर टुंग्याउनुपर्ने सुझाव सीताकुमारी र रामसेवकलाई दिए । माघ २८ मा पञ्चायत पनि बस्यो ।
पीडकमध्येका रुपेश मण्डलका परिवार पनि पञ्चायतमा बसेका थिए । रिंकुकुमारीका परिवारलाई १ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति दिने र कतै उजुरबाजुर नगर्ने निर्णय पञ्चायतले गर्यो ।

त्यसको भोलिपल्ट माघ २९ गते रुपेशका बुवाले अर्को पञ्चायत डाकेर आफूले मात्रै १ लाख ४० हजार दिन नसक्ने बताए ।
पञ्चायतले निर्णय गरेपछि आफूले पैसा पाउँछु भन्ने आशामा रहेकी रिंकुकुमारीकी आमा सीतादेवी माघ ३० मा छोरीलाई एक्लै घरमा छाडेर बजार गइन् । फर्केर आउँदा छोरी झुण्डिकएको अवस्थामा मृत भेटिइन् । उनी चिच्च्याउन/कराउन थालिन् । गाउँका अन्य मानिसहरू पनि भेला भए ।
सीतादेवीका आफन्त रामसेवकले उक्त घटनाको जानकारी वडाध्यक्ष नविनकुमार यादवलाई गराए ।
नविनकुमारले प्रहरीलाई घटनाबारे जानकारी गराउँदै आउन भने । प्रहरी घटनास्थलमा पुगेर पोस्टमार्टमका लागि शव अस्पताल लिएर गयो । गाउँमा रुवावासी शुरू भएपछि रिंकुकुमारीको मृत्युको कारण बलात्कारका घटनासँग जोडिएकोबारे प्रहरीले थाहा पायो ।
फागुन १ गते रिंकुकुमारीकी आमा सीतादेवी र रामसेवक उजुरी दिन इलाका प्रहरी कार्यालय लाहान पुगे । गाउँकै रुपेश, टिंकु मण्डल र चन्दन साहेलाले रिंकुकुमारीलाई बलात्कार गरेको र त्यही पीडा सहन नसकेर उसले आत्महत्या गरेको भन्दै सीतादेवीले बलात्कार र आत्महत्या दुरुत्सहानको मुद्दाको जाहेरी लिएर गएकी थिइन् । तर, प्रहरीले एक जनाविरुद्ध मात्रै उजुरी लिएर आउन भन्दै जाहेरी फिर्ता गरिदिएको जानकारी सीतादेवीकै गाउँका आफन्त चन्देश्वर साहले दिए । उनका अनुसार शुरूको जाहेरी प्रहरीले फिर्ता दिएको थियो । पछि सबैतिरबाट दबाब आएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको हो ।
घटनालाई लिएर मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ । कोइराला नेतृत्वको टोलीले घटनास्थल पुगेर विस्तृत विवरण लिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यका अनुसार प्रारम्भिक रूपमा बलात्कारपछि किशोरीले आत्महत्या गरेको अनुसन्धानबाट खुले पनि यसका कारण र अन्य पक्षहरू केलाउने काम भइरहेको छ ।
‘मध्यराति भएको घटना दबाउन पञ्चायत बसेको र रकममा बार्गेनिङ भएको अनुसन्धानले देखाएको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘पञ्चायत बसेको भिडियो र फोटो समेत हामीलाई प्राप्त भएको छ । अनुसन्धान गर्दैछौं ।’
पञ्चायती सभामा वडासदस्य नथुनी साह समेत सहभागी भएको प्रहरीले जनाएको छ । उनीसँगै रामकृपाल मण्डल, रामपृत साह, रामपुकार मण्डललगायत पञ्चायती सभामा थिए ।
मृतक रिंकुकुमारीका आफन्त रामसेवकका अनुसार ८ जनाविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । रिंकुले बताएअनुसार ३ जना युवक, पञ्चायतीमा बस्ने ४ जना र जाहेरी नदिन धम्की दिने १ गरी ८ जनाविरुद्ध उजुरी दिएको जानकारी रामसेवकले दिए ।
‘अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन, सबै गाउँ छाडेर भागेका छन्, खोजी गरिरहेका छौं भनेको छ,’ रामसेवकले भने, ‘शुरूमा प्रहरीले जाहेरी नै लिन मानेको थिएन, सबैतिरबाट दबाब आएपछि प्रहरीले अग्रसरता देखाएको हो ।’

सांसदले मागे पीडितलाई न्याय र पीडकलाई कारबाही
रिंकुकुमारीको घटनालाई लिएर २ सांसदले प्रतिनिधि सभा बैठकमा पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितका अनुसार तीनवटा प्रहरी टोली बनाएर फरारहरूको खोजी भइरहेको छ ।
‘अहिले गाउँमा एकजना पनि युवा भेटिएका छैनन्, सबै गाउँ छाडेर लुकेका छन्,’ पण्डितले भने, ‘पीडित पक्षको जाहेरीअनुसार हामीले आरोपीहरूको खोजी गरिरहेका छौं ।’
गत फागुन ५ मा बसेको प्रतिनिधि सभा बैठकमा सिरहा– ४ बाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य वीरेन्द्रप्रसाद महतोले गम्भीर अपराधमा सरकारले अपेक्षित रूपमा अनुसन्धान र कारबाही अगाडि नबढाएको बताएका थिए ।
उनले जघन्य अपराधको घटना बाहिरिँदा पनि राज्य र सरकार मुकदर्शक भएर बस्न नमिल्ने तर्क गरेका थिए । महतोले सामूहिक बलात्कारलाई गाउँमै पञ्चायत राखेर मिलाउने प्रयास भएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।
अर्का प्रतिनिधि सभा सदस्य सम्झना थपलियाले पनि रिंकुकुमारीमाथिको सामूहिक बलात्कार र रहस्यमय मृत्युबारे सरकारले प्रभावकारी ढंगले खोज र अनुसन्धान गर्नुपर्ने माग गरेकी थिइन् ।