१६ असार २०८३, मंगलबार

मुग्लिन-पोखरा सडक : दमौली बजारमा कालोपत्र गर्न थालियो

फागुन १०, २०८१
तनहुँ
मुग्लिन-पोखरा सडक : दमौली बजारमा कालोपत्र गर्न थालियो

मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र शुरू भएको छ । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात दमौली बजारमा कालोपत्र शुरू भएको हो । 

दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरू भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए । 

उनले भने, 'बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एक तर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।' बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ । 

पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ । 

यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विक्रम संवत् २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

विक्रम संवत् २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्