१२ असार २०८३, शुक्रबार

विवाहमा बेहुला–बेहुलीभन्दा जब मोहीतिर धेरैको ध्यान तानियो...

फागुन ११, २०८१
काठमाडौं
विवाहमा बेहुला–बेहुलीभन्दा जब मोहीतिर धेरैको ध्यान तानियो...

वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर, कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ ।

काठमाडौंमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । 

अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक ब्यांक्वेटमा बेहुला माधव भण्डारी र बेहुली अस्मी सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुभकामना र आशीर्वाद दिनेको भीड पेय पदार्थका रूपमा राखिएको मोहीतिर लहसिएको थियो ।

अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौंकी शिक्षा भट्टराईले बताइन् । बिहेमा सहभागी अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताए ।

विवाहमा मोहीप्रति मानिसहरूको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताए । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताए ।

बिहेका आगन्तुक एवं सञ्चारकर्मी डा. राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गरे । उनले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गरे ।

कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहेका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताए । 

बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उनले विशेष खुसी व्यक्त गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मी सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गरेका थिए ।

नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँ अनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताए ।

काठमाडौंमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्