३० असार २०८३, मंगलबार
ज्ञानेन्द्र शाहको वक्तव्यको चर्चा

पूर्वराजाको अभिव्यक्तिले संसदमा तरंग– प्रधानमन्त्री बन्न सुझावदेखि, प्लेन टिकटको कटाक्षसम्म

फागुन ११, २०८१
काठमाडौं
पूर्वराजाको अभिव्यक्तिले संसदमा तरंग– प्रधानमन्त्री बन्न सुझावदेखि, प्लेन टिकटको कटाक्षसम्म

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर संसदमा राजनीतिक तरंग उत्पन्न भएको छ । आइतबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा पूर्वराजा शाहको अभिव्यक्तिले स्थान पाएको हो । 

प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समयमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले गणतन्त्रविरोधी अभिव्यक्ति स्वीकार्य नभएको बताउँदै राजनीति गर्ने भए चुनाव लड्न सुझाव दिइन् । 

‘यो व्यवस्था कसैको निगाहामा आएको होइन, जनताको बलिदानीबाट आएको हो । त्यसैले गणतन्त्रमाथि आक्रमण स्वीकार्य छैन,’ न्यौपानेले भनिन्, ‘सत्तामा फर्किने हो भने ०८४ सालको चुनावमा भाग लिनोस् ।’

कांग्रेस सांसदले कुरा उठाएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संसद्मा प्रतिवाद गरे । 

‘नेपालमा राजलाई कुनै–कुनै स्पेस दिनुपर्छ भन्ने मान्यता म राख्छु । यहाँ गणतन्त्रको विरोध गर्नु, प्रजातन्त्रको विरोध गर्नुजस्तो कुरा गरियो,’ लिङ्देनले भने, ‘तपाईंहरूले लडेर ल्याएर होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो गणतन्त्र लूटतन्त्रमा परिणत हुन्छ भने त्यसको विरोध गरिरन्छौं ।’ 

प्रतिनिधि सभाको विशेष समयमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा फर्काउन आन्दोलन गर्नु नपर्ने भन्दै प्लेन टिकट काटिदिए पुग्ने बताए ।

‘यहाँ राजा फर्काउने पनि कुरा उठ्यो । के गर्न राजा फर्काउने ? ०५९ सालको असोज १७ या ०६१ माघ १९ गते फर्काउन ? केका लागि फर्काउन ? राजा फर्काउन पोखरामा जुलुस गर्नुपर्छ ? धेरै दुःख गर्नुपर्दैन, एउटा प्लेन टिकट काट्दिनुस् हजुर, जुलुस नगरी फर्किहाल्छन् । फर्किने भनेको काठमाडौं त होला नि, सिंहासनमा फर्किन त सम्भवै छैन,’ बाँस्कोटाले भने । 

बास्कोटा बोलेपछि राप्रपाका ज्ञानेन्द्र शाहीले राजतन्त्र रहने/नरहने विषयमा जनमत संग्रह गर्नुपर्ने माग राखे । 

प्रतिनिधि सभाको शून्य समयमा माओवादी केन्द्रकी सांसद छिरिङ डम्डुल लामाले पनि ज्ञानेन्द्रको विज्ञप्तिको विरोध गरिन् ।

प्रतिनिधि सभामा मात्र नभई राष्ट्रिय सभामा पनि पूर्वराजाको वक्तव्यको चर्चा भयो । 

यो विषय संसदमा छलफलयोग्य भएको भन्दै पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पूर्वराजाको अभिव्यक्ति बारे संसदमा कुरा राखे ।

‘मेरो उहाँलाई सहृदयी सल्लाह छ, पुनः राजा बन्ने होइन, आफ्नो नेतृत्वमा प्रजातान्त्रिक दल निर्वाचन आयोगमा दर्ता गराउनुस् । २०८४ सालको चुनावमा भाग लिनोस् र निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बनेर समृद्धि कायम गर्न लाग्नुस् । नेपालको चौतर्फी विकास गरेर देखाइदिनुस्,’ गौतमले भने, ‘फेरि राजा बन्ने कोशिश भए नेपालमा ग्रेट बिटेन र फ्रान्सको स्थिति दोहोरिन सक्छ । फेरि म फलानो हुँ भन्ने स्थिति नरहन सक्छ ।’

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ६ गते भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्रले देशको अवस्था खस्किँदै गएकाले चुप लागेर बस्न नसक्ने बताएका थिए । साथै उनले खुलेर समर्थन गर्न सर्वसाधारणसँग अपिल गरेका थिए । 

ज्ञानेन्द्रको विज्ञप्तिप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट विरोध जनाएका थिए । 

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपा नेपालका अध्यक्ष कमल थापाले शाहको विज्ञप्तिको बचाउ गरेका  थिए । 

salt training

कमेन्ट गर्नुहोस्