मनसुनजन्य विपद्मा परी बेपत्ता भई १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिलाई मृतकसरह मानिने भएको छ।
सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
‘संवत २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत् मृतकसरह राहत उपलब्ध गराउने’, मंगलबार सार्वजनिक मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
सोमबारकै मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कञ्चनपुरका शरद ओझालाई नियुक्त गर्ने, भारत, थाइल्याण्ड र संयुक्त राज्य अमेरिकामा हुने कार्यक्रममा क्रमश: राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंह, डा. जयबहादुर टण्डन र उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।