२१ जेठ २०८३, बिहीबार

विवादमा तानियो कोशी खेलकुद महोत्सव, कराँते महासंघले गर्‍यो बहिष्कार

फागुन १४, २०८१
विराटनगर
विवादमा तानियो कोशी खेलकुद महोत्सव, कराँते महासंघले गर्‍यो बहिष्कार

प्रथम कोशी खेलकुद महोत्सव विवादमा तानिएको छ । बुधबारबाट विराटनगरमा शुरू भएको प्रथम महोत्सव उद्‌घाटनसँगै विवादमा परेको हो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित महोत्सवलाई नेपाल कराँते महासंघ मोरङ जिल्ला कमिटीले बहिष्कार गरेसँगै विवाद बढेको हो। विवादित व्यक्तिलाई कराँते प्रतियोगिताको संयोजक नियुक्त गरेको भन्दै महासंघले महोत्सव बहिष्कार गरेको हो ।

मंगलबारबाट शुरू भएर १८ गतेसम्म चल्ने महोत्सवमा ११ विभिन्न खेलहरू समावेश छन् ।

महासंघका संयोजक राम लिम्बूले बुधबार जारी गरेको विज्ञप्तिमा अन्य खेलहरूका संयोजकका रूपमा सम्बन्धित खेल संस्थाहरूलाई नियुक्त गरिएको भए पनि कराँतेमा मात्र यो नियम तोडिएको उल्लेख गरिएको छ ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सबैभन्दा बढी पदक ल्याउने कराँते खेलको विकासमा लागि परेको संस्था नेपाल कराँते महासंघलाई बेवास्ता गरेर प्रदेश सरकारको प्रत्यक्ष संलग्नतामा भएको यो खेलकुद महोत्सवप्रति हाम्रो गम्भीर असहमति छ,’ विज्ञप्तिमा भनिएको छ ।

null

महासंघले आफ्नो संस्थासँग आबद्ध सम्पूर्ण कराँते खेलाडी, प्रशिक्षक, रेफ्री तथा अफिसियलहरूलाई उक्त प्रतियोगितामा सहभागी नहुन कडा निर्देशन जारी गरेको छ ।

‘...यदि प्रदेश सरकारले आधिकारिक नेपाल कराँते महासंघसँग समन्वय गरेर प्रतियोगिता सञ्चालन गर्न चाहेमा मात्र हामी सहकार्य गर्न तयार छौं  । अन्यथा यस अपमानजनक कार्यको विरुद्धमा हामी थप कडा कदम चाल्न बाध्य हुनेछौं,’ लिम्बूले विज्ञप्तिमार्फत चेतावनी दिए ।

महोत्सवको औपचारिक उद्‌घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गरेका थिए ।

यस महोत्सवमा प्रदेशस्तरीय महिला फूटबल, महिला तथा पुरुष दौड, कबड्डी, भेट्रान बाघचाल, टेबलटेनिस, बुद्धिचाल, तेक्वान्दो, सफ्टटेनिस र डोरीतान लगायतका खेलकुद प्रतियोगिताहरू समावेश छन् ।

प्रदेश खेलकुद विकास बोर्डले यस विवादबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तर यो घटनाले प्रदेशको पहिलो आधिकारिक खेलकुद महोत्सवमा नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

null

salt training

कमेन्ट गर्नुहोस्