
पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।
पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, 'महाशिवरात्रीका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौं ।'
पक्राउ परेका मध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ ।
आज महाशिवरात्रीका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमान्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौं भक्तजनको भीड लागेको छ ।
भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुपतिनाथका चार वटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।