पौराणिक ग्रन्थहरूलाई आधार मान्ने हो भने नेपाललाई सत्ययुगमा ‘सत्यवती’, त्रेतायुगमा ‘तपोवन’, द्वापरयुगमा ‘मुक्तिसोपान’ र कलियुगमा ‘नेपाल’ भन्ने गरिएको कुरा सगर्व वर्णन गरिएको छ ।
भारतीय सम्राट् ’समुद्रगुप्त’ले पनि नेपाललाई एउटा स्वतन्त्र राज्यको नाम दिएबाट थाहा हुन्छ, हामी हिमालयको काखमा लमतन्न तराईरूपी च्यादर फैलाएर विश्वमानचित्रमा शताब्दिऔंदेखि अवस्थित छौं ।
नेपालमात्र होइन, विश्वका धेरै देशहरूले विभिन्न ऐतिहासिक कालखण्डमा आफ्नो अस्तित्वलाई जोगाउन घनीभूत ढंगबाट पहल गरेका छन् । विशेषगरी बीसौं शताब्दीभन्दा पछि आधुनिकीकृत राज्यव्यवस्थामा धेरै देशहरू विश्वको मानचित्रबाट हटेका छन् र धेरै देशले जन्म लिएका छन् ।
नेपालको जन्म पौराणिक हो, यसको सीमा तलमाथि भएको होला, तर आजसम्म आउँदा नेपालको राज्यव्यवस्थाको जग हल्लिएको इतिहास हामीले पढ्न पाएका छैनौं ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहदेखि गणतन्त्रको यात्रा गर्दासम्म हामीले धेरै उतारचढावको सामना गर्नुप–यो विशेष गरेर देशको अस्तित्वको सन्दर्भमा । त्यो उतारचढावको सामना गर्ने क्रममा धेरै ऐतिहासिक व्यक्तित्वहरूले उल्लेख्य भूमिका खेलेका छन् ।
कतिपयलाई इतिहासले न्याय गरेर उनीहरूको नाम सुनौलो अक्षरमा समेटिएको छ भने कतिपय पात्रहरूको नाम छुटेको छ । तर हाम्रो जग हल्लिएन, हामी स्वतन्त्र भएर उभिरह्यौं ।
दोस्रो विश्वयुद्धपछि विश्वले स्वतःस्फूर्त रूपमा आर्थिक र सामाजिक विकासक्रममा हात हाल्यो । साम्राज्यवादका ठूला ठूला अहम् र दम्भहरू विघटन भए । भारतजस्ता देशहरू जुन आकार र जनसंख्यामा ठूला भएर पनि आफ्नो अस्तित्वको रक्षा गर्ने मामिलामा चुके, दोस्रो विश्वयुद्धपछि स्वतन्त्र बने । तर साम्राज्यवादले नयाँ ढंगबाट चुनौतीको सृजना ग–यो ।
नेपालजस्ता कतिपय स्वतन्त्र देशलाई साम्राज्यवादले विभिन्न चरणमा विभिन्न उपायद्वारा शोषण र दमन गर्ने गरेको इतिहास छ । स्वतन्त्र भारतका नीतिनिर्माताहरूमा अंग्रेजहरूको साम्राज्यवादी रोग सरिसकेपछि हिमालयको काखमा स्वतन्त्र, निर्भय र अटल रूपमा रहेको देश नेपालको सुरक्षा चुनौती बढ्दै गइरहेको छ र आजसम्म रोकिएको छैन ।
आज नेपालका सामु ठूला तीनप्रकारका चुनौतीहरू ठडिएका छन् । पहिलो अस्तित्व रक्षाको प्रश्न, दोस्रो समृद्धिको प्रश्न र तेस्रो आन्तरिक राजनीतिक व्यवस्थापनको प्रश्न । सुन्दा जटिल लाग्ने र छुट्टाछुट्टै जस्ता देखिने चुनौतीहरू एकआपसमा अन्तःसम्बन्धित छन् । एउटाको प्रयोगले अर्को हल हुन सक्छ ।
यी सतहमा देखिएका चुनौतीका हाँगाहरू धेरै गहिरो गरेर जनजनमा फैलिएका छन् । हरेक नेपालीको हरेक क्षणको दिनाचर्यामा यी चुनौतीहरूले रंग घोलेका छन् ।
लेखक अर्यालसामाजिक सञ्जालदेखि पानीपँधेरोसम्म र सिंहदरबारदेखि चियापसलसम्म यिनै चुनौतीहरूको विषयमा छलफल हुन्छ । यसको अर्थ हामी हाम्रो देशको अस्तित्व, समृद्धि र आर्थिक राजनीतिक व्यवस्थापनप्रति सचेत छौं भन्ने हुन्छ ।
तसर्थ यी चुनौती मनमा बिझ्नेहरू सबै राष्ट्रवादी, देशप्रेमी नेपालीहरू हुन् भन्ने आशयमा भावनात्मक एकीकरण हुने ठाउँ अझै सकिइसकेको छैन । बदलिएको राजनीतिक परिवर्तनसँगै बदलिएको राष्ट्रिय एकताको मियो यी देखिएका चुनौतीहरूको एकमुष्ट समाधानमा भेटिन सक्छ ।
कुरोको चुरो समस्याको पहिचान भन्दा समाधानको उपायमा छ । चुनौतीको सामना गर्ने पैरवीहरूमा हामी विभाजित र विखण्डित छौं । समस्याको पहिचानमा हामी एक छौं, तर समाधानको बाटो चाहिँ हामीले फरक–फरक तरिकाले रोजेका छौं ।
दैनिक रूपमा हुने राजनीति घटनाक्रमहरूलाई चुनौतीको सामना गर्ने दिशातर्फ मोड्नु आजको आवश्यकता हो । ती घटनाक्रमलाई हेर्ने हाम्रो दृष्टिकोण विभाजित भएको कारणले हामीले अर्जुनको आँखाबाट होइन, अन्य पाण्डव भाइहरूको आँखाबाट चरो हेरिरहेका छौं । कसैले टाउको देखेको छ, कसैले पात, कसैले चरोको खुट्टा देखेको छ अनि कसैले रुख देखेको छ । आँखो र नानी मात्र हामीले जहिले देख्छौं, चुनौतीको सामना हामीले त्यहीबेला गर्न सक्छौं ।
कुनै सिद्धान्त या वाद बोकेकै आधारमा या पूर्वाग्रही दृष्टिकोण भएको आधारमा खतरामा परेको अस्तित्व जोगाउनु हुँदैन, समृद्धिको विरोधमा लाग्नुपर्छ या आन्तरिक राजनीतिक व्यवस्थापन हुनुहुँदैन भनेर कसैले भन्न सक्दैन ।
विभिन्न राजनीतिक ‘वाद’हरूले हामीलाई वाद र प्रतिवाद गर्न जरूर सिकाएका हुन्छन्, तर राष्ट्रिय चुनौतीको सवालमा हामी आफ्नो पार्टीको झण्डा त्याग्न सक्नुपर्दछ । देशप्रेमभन्दा अर्को ठूलो सिद्धान्त हुनै सक्दैन । त्यसैले त बालकृष्ण सम भन्छन्, ‘देशभक्ति त मर्दैन चुत्थै देश भएपनि ।’
पहिलो चरणमा सबल, समृद्ध र प्रगतिशील राष्ट्रवादको पक्षमा उभिनु, आधारभूत न्याय र मानवअधिकारको पक्षमा उभिनु, जनताको मौलिक अधिकारहरूका साथसाथै जनजीविकालाई सहज बनाउने र समतामूलक समाजको निर्माण गर्नतर्फ लाग्नु, भौगोलिक विविधतामा भावनात्मक एकता खोज्नु र आआफ्नो मौलिकताको रक्षा गर्नतर्फ लाग्नु, यी लक्षणहरू वास्तविक राष्ट्रवादका लक्षण हुन् ।
हामीसँग दुईवटा राष्ट्रवाद प्रचलित छन् । एउटा बोक्रे राष्ट्रवाद र अर्को गुदी राष्ट्रवाद । आर्थिक विकासलाई अघि बढाएर छिमेकीसँगको परनिर्भरतालाई कम गर्दै जानु गुदी या व्यावहारिक राष्ट्रवाद हो भने सुन्दा मीठो लाग्ने देशप्रेमले ओतप्रोत भएका नाराहरू उचालेर राष्ट्र सकिनै लागेको भनेर जनतामा आतंक फैलाएर आफ्नो चुनावी राजनीति सुरक्षित गर्न खोज्नु बोक्रे या अव्यावहारिक राष्ट्रवाद हो ।
दोस्रो चरणमा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धलाई मजबुत बनाउनु, दीर्घकालीन परराष्ट्र नीतिको निर्माणसँगै आन्तरिक राजनीतिक शक्तिहरूलाई राज्यको ‘वान आई पोलिसी’मा सहमत गराउनु, छिमेकी देशहरूको स्वार्थलाई सम्बोधन गर्दा राष्ट्रियतामा कुनै आँच आउने हैन, बरू अझ मजबुत हुने तरिकाले गर्नु, आयातबराबरको निर्यात र भुक्तानी सन्तुलनमा जोड दिनु, विश्वभर कूटनीतिक च्यानलहरू थप्दै जाने र मौजुदा सम्बन्धहरूलाई थप दरिलो बनाउँदै जानु जस्ता कामहरूमा जोड दिएर विश्वमा नेपालको अस्तित्वलाई चुनौतीरहित बनाउन सकिन्छ ।
बिभिन्न कालखण्डमा देखिएका अस्तित्व रक्षाको चुनौतीहरूलाई नेपालका शासकले प्रमुख आन्तरिक नीतिनियमहरूको फेरबदल गरेरै समाधान गर्ने गरेका छन् ।
इतिहासबाट सिकेर समयसापेक्ष नयाँ केही प्रयोग गर्ने हो भने हामी भारतीय विस्तारवादबाट हुने सुरक्षा चुनौती र अन्य बाह्य विश्वबाट भइरहेका सामाजिक सांस्कृतिक अतिक्रमण लगायतका चुनौतीलाई ‘न्युट्रलाइज’ गर्न सक्षम हुनेछौं ।