
एक व्यक्ति झन्डै २ अर्ब रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइएको छ ।
प्रहरीका अनुसार राजधानीको तिलिङ्गेटारबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोशन गुरुङलाई पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न गुरुङले एक अर्ब सतासी करोड सात लाख तेह्र हजार १ सय बैसठ्ठी रुपयाँ बराबरको अवैध कारोबार गरेको देखिएको परिसरको भनाइ छ ।
उनलाई अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच क्रिप्टो कारोबारी लुटिएको समेत खुलेको छ । एसएसपी विश्वराज अधिकारीले गुरुङलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी सहायक हवल्दार राजेन्द्र बहादुर केसी तथा नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती, खोटाङका कपिल बस्नेत, सुनसरीका संजोक तामाङ र मोरङका मनिस कुमार राय छन् ।
गुरुङलाई प्रहरीले पक्राउ गरेसँगै उनले आफू लुाटिएको बताएका थिए । उनले दिएको सूचनाका आधारमा फलो गर्दा उनीहरुलाई पक्राउ गरिएको अधिकारीको भनाइ छ । गुरुङको साथबाट उनीहरुले १४ लाख लुटेको बताइएको छ ।