
यस वर्षको 'यदु स्मृति पत्रकारिता पुरस्कार' दिलभूषण पाठकलाई प्रदान गरिएको छ । २६औं यदु स्मृति दिवसका अवसरमा बुधबार पत्रकार पाठकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
दिवसका अवसरमा यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष मानवअधिकार, शान्ति स्थापनाका पक्षमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
नेकपा (एमाले) रुकुमका तत्कालीन सचिवसमेत रहेका यदु गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमै हत्या गरिएको थियो । उनको स्मृतिमा हरेक वर्ष फागुन २१ गते एउटा पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।
पुरस्कारले सत्यतथ्य सम्प्रेषण गर्न थप हौसला प्रदान गर्ने पुरस्कृत पत्रकार पाठकले बताए ।
प्रतिष्ठानकी अध्यक्ष सुजाता गौतमले द्वन्द्वले कसैलाई केही नदिएको बताइन् । नेपालमा भएको हिंसाले कसलाई के दियो ? भन्दै उनले प्रश्न गरिन् । 'सानै उमेरमा बुबा गुमाउनुपर्यो । सबै परिवारमा युद्धको डर भइरहन्थ्यो । यसको उचित मूल्यांकन हुनुपर्छ । १७ हजार मारिएर माओवादीहरूले के पाउनुभयो ? ती १७ हजारका परिवारहरूले के पाए ?' उनले प्रश्न गरिन् ।
पत्रकारिता पुरस्कारका लागि यस पटक दुइटा मापदण्ड बनाइएको थियो । एक वर्ष राष्ट्रिय कार्यक्षेत्र र अर्को वर्ष राप्ती भूगोलमा रहेकालाई पुरस्कार दिने गरिएको सिफारिस समितिका संयोजक तथा सांसद सूर्यबहादुर थापाले बताए ।
'पाठक सशस्त्र द्वन्द्वको फिल्ड रिपोर्टिङ गर्ने 'पत्रकार हुन् । उनले सबैभन्दा बढी फिल्ड रिपोर्टिङ गरेका छन् । यसले पुरस्कारको सम्मान र स्थान बढिरहेको छ,' उनले भने, 'योग्य व्यक्तिलाई पुरस्कार प्रदान गरेका छौं । हरेक वर्ष यसको राशी पनि बढेको छ ।'
यस वर्ष पुरस्कारको राशी २३ हजार रूपैयाँ रहेको उनले बताए ।