२९ असार २०८३, सोमबार

ओलीविरुद्ध खनिए रास्वपा सांसद– हिटलर बन्न खोजेको हो ?

फागुन २१, २०८१
काठमाडौं
ओलीविरुद्ध खनिए रास्वपा सांसद– हिटलर बन्न खोजेको हो ?

सरकार निरंकुश बन्न खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । उनीहरूले ओलीलाई जर्मन तानाशाह हिटलरजस्तै बन्न खोजेको हो ? भनेर प्रश्न समेत गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा रास्वपाका सांसदहरूले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् । ओलीलाई ‘हिटलर बन्न लागेको हो ?’ भनेर प्रश्न सोध्ने पत्रकारको संसद्‌मा प्रवेश गर्नै पास निलम्बन गरिएको विषयमा आपत्ति जनाउँदै रास्वपा सांसदहरूले ओलीलाई हिटलर बन्न खोजेको हो ? भनेर प्रश्न गरेका हुन् । 

‘के तपाईं हिटलर हो भनेर सोधेको आधारमा संसद् सचिवालयले दुई जना पत्रकारको पास निलम्बन गरेछ । सत्तापक्षका माननीय सांसदले निर्वाचन जितेको मान्छे कतै हिटलर बन्छ भनेर यही संसद्‌मा भन्नु भएको थियो, संसद् निरन्तर सत्ताको छायाँ बन्दै गएको छ’ सांसद शिशिर खनालले भने, ‘जर्मनको सन् १९३० को इतिहास पढ्नुस् । हिटलर बन्दुकको नालबाट होइन चुनावबाट आएका थिए । चुनाव जितेर आएपछि लोकतान्त्रिक अधिकार गरेर निरंकुश बने, अहिलेको सरकार पनि त्यही बनेको छ । अब मेरो पनि प्रश्न छ– प्रधानमन्त्रीज्यू तपाईं पनि हिटलर बन्दै हो ?’

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ माथि विरोधको सूचना पेश गर्न रोस्ट्रममा पुगेकी सांसद सुमना श्रेष्ठले पनि ओलीलाई हिटलर बन्न लागेको हो भनेर प्रश्न गरिन् ।

‘आपतकालीन बाहेक अध्यादेशमार्फत शासन चलाउने कुरा अस्वीकार्य छ । शिशिरजीको प्रश्न दोहोर्‍याउँछु- के प्रधामनन्त्रीज्यू तपाईं हिटलर बन्न खोज्दै हुनुहुन्छ ?’ सांसद श्रेष्ठले भनिन् । 

शून्य समयमा सांसद शिव नेपालीले प्रधानमन्त्री र उनको पार्टीलाई प्रश्न मन नपर्ने भन्दै कटाक्ष गरे । ‘प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन किनकी उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन । प्रश्न सोध्दा पत्रकारको अनुमति पत्र खोसिन्छ । केपी ओली कप फुटबलमा हुटिङ गर्दा कार्यकर्ताले सर्वसाधारण कुट्छन्’ नेपालीले भने । 

ओलीलाई ‘तपाईं हिटलर बन्दै हुनुहुन्छ ?’ भनेर संसद परिसरमा प्रश्न सोध्ने पत्रकारको पास निलम्बन गरिएको विषयमा संसद्‌मा अन्य सांसदले समेत सरकारको विरोध गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्