
नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा यात्रुहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ ।
महोत्तरीको पाँच वासामध्ये अन्तिम चरणको कंचनवन वासमा हेल्पडेस्क सञ्चालन गरिएको हो ।
कार्यक्रम सहसंयोजक रुवि झाकाअनुसार हेल्पडेस्कमार्फत् यात्रुहरूका लागि स्वास्थ्य जाँच, आवश्यक औषधि वितरण तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराउने कार्य भइरहेको छ ।
परम्परागत रूपमा प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ ।

परिक्रमाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गर्छ ।
नेपाल-भारत खुला सीमाको कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान-प्रदानलाई प्रवर्द्धन गर्ने अवसर पनि प्रदान गरेको संस्थाको केन्द्रीय अध्यक्ष राजीव झाले बताए ।
संस्थाका केन्द्रीय उपाध्यक्ष शिवशंकर साह हिराले नेपाल-भारत खुला सिमानाका कारण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सहज रूपमा सम्पन्न गर्न सकिएको बताए ।

भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु-सन्तहरूले बिना झन्झट नेपाल प्रवेशगरी परिक्रमा गर्न पाउने सुविधा पाएको उनले बताए ।
नेपाल-भारतको सांस्कृतिक सम्बन्ध सुदृढ पार्ने धार्मिक परिक्रमा मिथिला मध्यमा परिक्रमा नेपाल-भारतबीचको सांस्कृतिक सम्पर्कको प्रतीक मानिन्छ।
धार्मिक पर्यटकलाई आकर्षित गर्दै नेपालको स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने काम गरेको कार्यक्रम संयोजक दीपक यादवले बताए ।