०७ साउन २०८३, बिहीबार

१२ लाख पुरस्कार राशीको तिलोत्तमा गोल्डकप चैत ९ देखि

फागुन २५, २०८१
बुटवल
१२ लाख पुरस्कार राशीको तिलोत्तमा गोल्डकप चैत ९ देखि

नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ९ गतेदेखि सञ्चालन हुने भएको छ । 

आयोजक रूपन्देही जिल्ला फुटबल संघले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी चैत ९ गतेदेखि १६ गतेसम्म प्रतियोगिताको २३औं संस्करण हुने जानकारी दिएको हो । 

एन्फा एकेडेमीको मैदान देवीनगरमा हुने प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुने रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।

प्रतियोगितामा रूपन्देही–११, संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज क्बल, नेपाल आर्मी क्बल, नेपाल पुलिस क्लब, एपीएफ क्बल, एडोर्न गडवाल सपोर्टिङ क्बलबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको बिजेताले १२ लाख २२ हजार २२२ रूपैयाँ, उपविजेताले ६ लाख ६६ हजार ६६६ रूपैयाँ प्राप्त गर्ने अध्यक्ष पुनले बताए । २०३३ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको मुख्य संरक्षक बुटवल उपमहानगरपालिका रहेको छ । 

सर्वोकृष्ट खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर, विधागत गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई जनही ३१ हजार र म्यान अफ दि म्याचलाई ११ हजार १११ रूपैयाँ प्राप्त गर्नेछन । 

मोफसलको चर्चित प्रतियोगिता तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि शुरू भएको प्रतियोगिता रूपन्देही जिल्ला फुटबल संघले नियमित सञ्चालन गर्दै आएको छ । प्रतियोगिताको मुख्य संरक्षक बुटवल उपमहानगरपालिकाले यो वर्ष ४० लाख रूपैयाँ एन्फालाई उपलब्ध गराएको छ ।

गत वर्ष प्रतियोगिताको उपाधि मनाङ मर्स्याङदी क्बलले जितेको थियो ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय र युवाको तहमा प्राथामिकता दिएर अघि बढेको बताए ।

खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुद पर्यटनको रूपमा विकास गर्नेगरी पूर्वाधार र खेल गतिविधि भइरहेको बताए ।

प्रतियोगिताका सहसंयोजक सुजन पुनले तयारी पूरा गरेर खेलमैदान सिँगारेर चिरिच्याट्ट पारिएको जानकारी दिए । दर्शकलाई खेल हेर्न एन्फा एकेडेमीमा स्थायी स्टेडियमसँगै प्याराफिट तयार छ । 

कमेन्ट गर्नुहोस्