०१ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत, उच्च अदालत गुहार्न पुगे रवि

फागुन २७, २०८१
काठमाडौं
कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत, उच्च अदालत गुहार्न पुगे रवि

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको अक्षमताका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।

सोमबार बिहान खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
००००
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपा लगायतका पार्टी अबद्ध ‘समाजवादी मोर्चा’ले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिहंदरबारमा सोमबार बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निरासाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ । 
००००
सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त भएका छन् । 

 सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे भने अनिर्णीत भएको छ । बैठकमा उनको विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय नभएको ती मन्त्रीको दाबी छ ।
००००
नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए ।
००००
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख छ ।
००००
डा सीके राउत नेतृत्वको जनमत पार्टीले रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकताका लागि कार्यदल गठन गरेको छ । 

आइतबार र सोमबार महोत्तरीको बर्दिबासमा भएको केन्द्रीय समिति बैठकले पार्टीका तर्फबाट तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा अब्दुल खान, डा शरदसिंह यादव र  बालगोविन्द चौधरी रहेका छन्  ।
००००
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो सात महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो ।
जसअनुसार चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण अर्थात् रेमिट्यान ७.३ प्रतिशतले बढेर साढे ९ खर्ब ५८ करोड पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स ६ अर्ब ६५ करोड पुगेको छ ।
००००
लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । 

साताको पहिलो कारोबारका दिन आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक सोमबार पनि २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको हो ।
००००
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गरेकी छन् ।

मन्त्री डा देउवा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।     
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना बुझाएको छ ।

पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाको आह्वानमा आइतबार निकालिएर्को -यालीपछि महानगरले एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । आइतबार नै राप्रपालाई जरिवानाको पत्र काटिएको थियो ।
००००
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा शुरू भएको छ । 

बिरामीको बढिरहेको चाप अनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेसन सेवा दुई सिफ्टमा शुरू गरेको हो ।
००००
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिने आदेश गरेपछि लामिछाने त्यसविरुद्ध उच्च अदालत गुहार्न पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्