
अन्ततः पर्यटकीय नगरी पोखरामा हुने भनिएको गण्डकी कोटीहोम शतकुण्डीय गायत्री महायज्ञ तोकिएकै समयमा हुने देखिएको छ । आयोजनास्थलको सम्बन्धमा पोखरा महानगरपालिका खासगरी नगरप्रमुखको अनावश्यक अहम्का कारण केही समय अनिश्चयको बादल देखिएको थियो । उनी पहिलेदेखि नै यसको विपक्षमा थिए र अदालतसम्म पुगेका थिए तर, अदालतको निर्णय उनको पक्षमा आएन ।
त्यसपछि भ्याकेट निवेदन दर्ता गराउन पुगेका भए पनि त्यसले समेत काम गरेन । अन्त्यमा नगरप्रहरी खटाएर भूमिपूजन बिथोल्नसमेत बाँकी राखेका थिएनन् तर, बढ्दो जनसर्मथनका कारण त्यसले समेत काम गर्न नसकेको देखिएको छ ।
गण्डकी कोटीहोमले विभिन्न कार्यक्रम अगाडि सारेको छ । तीमध्ये सुविख्यात भारतीय कथावाचक अनिरुद्धाचार्यको आगमन पनि हो । यसो त उनी गत साउनमा सम्पन्न पशुपति कोटीहोममा पनि आएका थिए तर, त्यति बेला उनको कार्यक्रम एक दिवसीय थियो तर, कार्यक्रम छोटो भए पनि नेपाली भक्तहरूमा गहिरो छाप छाडेर गएका थिए, जसले पुनः आगमनको अवस्था सिर्जना गर्यो ।
भारत मध्यप्रदेशको जबलपुरमा २७ सितम्बर १९८९ मा जन्मेका अनिरुद्धार्यजी दास अनिरुद्धको नामले पनि चिनिन्छन् तर, उनको वास्तविक नाम भने अनिरुद्धराम तिवारी हो । पिता रामनरेश तिवारी र माता छाया वाईका यशस्वीपुत्र अनिरुद्धाचार्यजी सानैदेखि आध्यात्मिक क्षेत्रमा लागेका व्यक्ति हुन् । यसैका कारण उनले विद्यालस्तरीय शिक्षा खासै लिन पाएनन् तर, आध्यात्मिक क्षेत्रमा भने गहिरो पकडको क्षमता राख्छन् । उनको कथावाचन गर्ने शैली पनि छुट्टै छ र भक्तहरूको जिज्ञासा शान्त पार्ने शैली अद्भूत छ । यही नै उनको लोकप्रियताको कारण हो ।
सेवा हि परमो धर्म अर्थात् सेवालाई नै परमधर्म ठान्ने आनिरुद्धाचार्यले कथाकै माध्यमबाट देश विदेशमा ख्याति कमाएका मात्र छैनन् सेवापरक थुप्रै कामसमेत गर्र्दै आएका छन् । भारतको वृन्दावनमा गौरीगोपाल नामक आश्रम खोलेर संस्थागतरूपमा समाजसेवामा लाग्दै आएका अनिरुद्धाचार्यजीको आश्रममा वृद्धाश्रम तथा गौशाला रहेका छन् ।
वृद्धाश्रममा हजार जनाभन्दा बढी वृद्धवृद्धाहरूले खानेबस्ने सहितको स्वास्थ्यसेवा पाएका छन् भने ३०० जना हाराहारीका अनाथ बालबालिकाले बास, गाँस र शिक्षासुविधा प्राप्त गर्दै आएका छन् । अनिरुद्धाचार्यजीको स्वभाव सरल छ तर, त्यही सरलताभित्र गहिरा रहश्य छिपेको पाउन सकिन्छ । यिनै विशेषताले गर्दा उनलाई भेट्नासाथ भक्तहरू श्रद्धाले शिर झुकाउने गर्छन् । नेपाल र नेपालीबारे पनि उनी राम्रा प्रशंसक हुन् । जहाँ पुग्छन् अपवादमा कहिँकतै अन्यथा भए छुट्टै कुरो होइन भने नेपाल र नेपालीको नाम लिन छुटाउँदैनन् । उनी नेपालीहरूको सादापन मन पराउँछन् । यहाँको प्राकृतिक सम्पदा र धार्मिक तथा तीर्थस्थलको खुलेर प्रशंसा गर्छन् । यसैका कारण उनको केही समयअघिको नेपालसम्बन्धी अभिव्यक्ति निकै चर्चित हुन पुगेको थियो ।
वास्तवमा अनिरुद्धाचार्यजी आध्यात्मिक व्यक्ति हुन् । अध्यात्म उनको धर्म पनि हो र कर्म पनि हो । यसै क्षेत्रमा आफ्ना जीवन समर्पित गर्दै आएका छन् र यसैको माध्यमबाट मानवसेवाको क्षेत्रमा होस्टेहैँसे गर्दै आएका छन् ।
सानैदेखि कथावाचन गर्न थालेका अनिरुद्धाचार्यले निकै कथा भने, भनिरहेका छन् । लाग्छ उनी कथा भन्नकै लागि आएका हुन्, कथावाचनबाटै समाजको सेवा गर्न आएका हुन् । कथावाचक त धेरै छन् । नेपालमा पनि छन्, भारतमा पनि छन् र नेपालमा भन्दा भारतमा धेरै छन् तर, उनको जुन शैली र खुबी छ साँच्चै त्यो अनुपम छ । गहिरा र दार्शनिक प्रकृतिका प्रसङ्गलाई पनि व्यावहारिक उदाहरणद्वारा सरल ढङ्गले बताउन सक्ने तागत राख्छन् ।
निसन्देह अनिरुद्धाचार्यजीले भनेजस्तै नेपाल देवभूमि हो, धर्मभूमि हो, तीर्थभूमि हो र प्रकृतिको क्रीडाभूमि पनि हो । विश्वको सर्वोच्च शिखर सगरमाथा यहीँ छ, बुद्धको जन्मभूमि लुम्बिनी यहीँ छ । विश्वका आठहजार मिटरभन्दा अग्ला १४ हिमसिखरमध्ये आठवटा शिखर यहीँ छन् । कौशिकी, गण्डकी, कर्णालीजस्ता पावन नदी तथा गोसाइँकुण्ड, दामोदरकुण्ड, मुक्तिक्षेत्र, वराहक्षेत्र, पाशुपतक्षेत्र, रुरुक्षेत्र, खप्तडक्षेत्रजस्ता धार्मिक क्षेत्रहरू यहीँ छन् ।
कश्यप, अत्रि, वसिष्ठ, पुलह, गालव, विश्वामित्र आदि वैदिक मन्त्रद्रष्टा ऋषिहरूको जन्मस्थल यहीँ छ, पाणिनिजस्ता विश्वाविख्यात व्याकरणाचार्यको तपस्थली यहीँ छ । गोकर्ण, बेत्रावतीजस्ता उत्तर गया पनि यहीँ छ, रुरु, हलेसी, पाथिभराजस्ता उत्तर काशीको हैसियत राख्ने स्थावर तीर्थस्थल यहीँ छन् । आदि प्रयागको रूपमा अवस्थित देवघाटधाम पनि यहीँ छ, आदि ज्योतिर्लिङ्ग पशुपतिनाथ तथा १२ ज्योतिर्लिङ्गको शिरोभाग डोलेश्वरधाम पनि यहीँ छ ।
यहाँका यस्ता अनगिन्ती तीर्थ तथा धार्मिक स्थलको व्याख्या यहीँका धर्मगुरुहरूबाट बढी हुनुपर्ने हो तर, जानीनजानी उनीहरू भारतीय भूभागमा अवस्थित तीर्थ तथा धार्मिकस्थलकै व्याख्यानमा श्रम खर्च गरिरहेका छन् । यसको अर्थ भारतीय भूभागमा अवस्थित धार्मिक तथा तीर्थस्थलको महत्व कम छ भन्ने होइन । छ, अवश्य छ र बखान गर्न हुन्न भन्ने पनि होइन । हुन्छ जति गरे पनि हुन्छ तर, आफ्नो देशमा विद्यमान सम्पदा र धार्मिकस्थललाई बिर्सनुहुन्न ।
यस्तो अवस्थामा अनिरुद्धार्यजस्ता भारतीय धर्मगुरूहरूबाटै यहाँका तीर्थ तथा धार्मिकस्थलको गुणगान तथा महत्व गाइनु सह्रानीय काम हो । यस अर्थमा उनी जति धन्यवादका पात्र भएका छन् उनलाई यता ल्याउने वातावरण मिलाउने आयोजक संस्था र संस्थापक सन्त विजयमूर्तिजी पनि उत्तिकै धन्यवादका भएका छन् । महायज्ञ पूर्ण सफल होस् र आइन्दा हाम्रा धर्मगुरुहरूले पनि यहाँका आध्यात्मिक सम्पदाको व्याख्या गर्ने गरुन् यिनै कामनाका साथ कलम रोक्न चाहन्छु ।