२२ असार २०८३, सोमबार

सरकारलाई प्रचण्डको चेतावनी– 'शिक्षकका मागलाई कम आँकिए राम्रो हुँदैन'

चैत २, २०८१
काठमाडौं
सरकारलाई प्रचण्डको चेतावनी– 'शिक्षकका मागलाई कम आँकिए राम्रो हुँदैन'

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आन्दोलनरत शिक्षकहरूको मागलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकका माग उपेक्षा गरिए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए।

विद्यालय शिक्षा विधेयक पारित गर्न चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले विधेयकलाई छिटो पारित गर्न जोड दिए।

'अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्न सकिन्छ,' उनले भने, 'तर, मुख्य कुरा इच्छाशक्तिको हो। शिक्षा र शिक्षकका विषय सरकारको प्राथमिकतामा नपर्दा ढिलाइ भएको छ।'

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रमा एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै प्रचण्डले देशको विकास र समृद्धिको आधार नै शिक्षा भएकोमा जोड दिए। 
'शिक्षा भौतिक पूर्वाधारको पनि आधार हो। विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्य घट्नुको मुख्य कारण शिक्षाबारे सही बुझाइको अभाव हो,' उनले भने, 'म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञ प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो। पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन सकेको छैन।'

अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट माओवादी केन्द्रले सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। 

शिक्षक महासंघका प्रतिनिधिहरूले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराउने काम प्रचण्ड नेतृत्वको सरकारले गरेको स्मरण गराउँदै विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने विश्वास व्यक्त गरे।

'डू एन्ड डाइको अवस्थामा छौं,' शिक्षक महासंघका प्रतिनिधिहरूले भने, 'विगतमा पनि शिक्षकका मागमा माओवादी र अध्यक्ष प्रचण्ड दृढ भएर उभिनुभयो। यसपटक पनि काँध थाप्न अनुरोध छ। माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस्।'

salt training

कमेन्ट गर्नुहोस्