
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ ।
शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो ।
क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले आज ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ ।
००००
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ भने नयाँ मूल्य आजदेखि कार्यान्वयनमा गएको छ ।
यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ ।
००००
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गर्ने बताएका छन् ।
शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले केही अध्यादेश पारि गरिबी निवारण भइसकेका र अब सो अध्यादेश आवश्यकतानुसार पेस हुने बताए ।
००००
नेपाली मुलका विजय पौडेल क्यानडामा सांसद पदका लागि आधिकारिक रुपमा मनोनीत भएका छन् ।
पौडेल क्यानाडाको कन्जरभेटिभ पार्टीबाट हम्बर रिभर–ब्ल्याक क्रीक क्षेत्रमा संघीय सांसद पदका लागि आधिकारिक रूपमा मनोनीत भएका हुन् ।
उनी मनोनीत भएसँगै क्यानडामा रहेका नेपाली समुदायका बीचमा उनको पक्षमा माहोल बनाउन सुरु भएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पु¥याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि सेवा सुविधा बढाउने पक्षमा पार्टी नरहेको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ को शनिबार पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
जनकपुरधामलगायत यस क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ । स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् ।
तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी शनिबार होली मनाइएको हो । मिथिला मध्यमापरिक्रमा उत्सवका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए ।
००००
नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् ।
उनले शनिबार पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताएका हुन् ।
००००
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा लगायतका दल सम्मिलित समाजवादी मोर्चाले सरकारको अलोकतान्त्रिक रवैयाका कारण राजावादी सल्बलाएको बताएको छ ।
यही चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रर्दशनसहितको जनसभा गर्नेबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा मोर्चा आबद्ध नेताहरूले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेका बताए ।
००००
बाँकेको जयेन्दु बाल सुधारगृहमा विवाद भएपछि अवस्था तनावग्रस्त बनेको छ । डडुवा गाउँपालिका हिरमिनियाको सुधारगृहबाट भाग्न खोजेका बालबालिकालाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको हो ।
त्यसक्रममा बालबन्दीले सुधारगृहमा आगो लगाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार सुधारगृहका बालबालिका एक आपसमा झगडा गरेर भाग्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो।