
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा सर्लाहीका एक शिक्षकविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सर्लाहीको बरहथवा नगरपालिकास्थित चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा बुढाथोकीले महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुर, रौतहटमा निम्न माध्यमिक शिक्षक तृतीय पद नियुक्तिको लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौंबाट जारी भएको प्रवीणता प्रमाण-पत्र तह (पीसीएल) तहको लब्धाङ्क पत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनले नक्कली शैक्षिक प्रमाणपत्रले राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले बताए ।