
२५ करोड रुपैयाँ नगदसहित काठमाडौंबाट समातिएका व्यक्ति यसअघि नै सुन तस्करीमा पक्राउ परेर लामो समय जेल बसेको खुलेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सुन तस्करीमा २०७३ सालमा पक्राउ परेर ७८ मा छुटेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन् ।
आठ वर्षअघि ७ किलो सुनसहित तत्कालीन अपराध अनुसन्धान महाशाखाले नै उनलाई समातेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेको टोलीले हिजोराति १० बजे रुपैयाँ राखेको ट्रकसहित लामालाई नियन्त्रणमा लिएको थियो । उनी आफैं ट्रक चालक र साहुसमेत रहेको ती अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए ।
काठमाडौंबाट रसुवा जाने तरखरमा रहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनका अनुसार लामाले काठमाडौंबाट पैसा लगेर केरुङबाट सुन ल्याउने तयारी गरेका थिए ।
ट्रकमा अगाडि फल्स बटम बनाएर पैसा लुकाएर राखेको प्रहरीले फेला पारेको थियो ।
यसबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले आजै पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने जनाएको छ ।