२२ जेठ २०८३, शुक्रबार
सुन तस्करीका लागि डलर र युरोको खात

एसएसपी बस्नेतलाई आएको त्यो सूचना, जसलाई पच्छ्याउँदै जाँदा भेटियो २५ करोड

टोखाबाट अगाडि बढिसकेको थियो ट्रक, डलर–युरोको खात देखेपछि प्रहरी नै चकित
चैत ५, २०८१
काठमाडौं
एसएसपी बस्नेतलाई आएको त्यो सूचना, जसलाई पच्छ्याउँदै जाँदा भेटियो २५ करोड

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतलाई सोमबार साँझ एउटा नचिनेको नम्बरबाट सूचना आयो– ‘ना ७ ख १६५२ नम्बरको डिब्बा ट्रकमा राखेर करोडौं रुपैयाँ रसुवातर्फ लगिँदैछ ।’ 

उक्त सूचनापछि बस्नेत एकछिन सोच्न बाध्य भए । ट्रकमा त्यसरी करोडौं रुपैयाँ कसले लैजान्छ ? उनलाई विश्वास गर्न मुस्किल पर्‍यो । सुन तस्करीमा यसअघि पनि पक्राउ परेर छुटेका व्यक्ति आफैं पैसा लिएर रसुवाको टिमुरेतर्फ जाँदैछन् भनेर सूचनामा भनिएको थियो । विवरणसहित सूचना आएकाले बस्नेतले डीएसपी अनिल घिमिरेलाई ट्रकको नम्बर र सूचनाको व्यहोरा पठाएर जसरी पनि ट्रक र मानिस नियन्त्रणमा लिई पैसा बरामद गर्न निर्देशन दिए ।

डीएसपी घिमिरे एउटा टोली लिएर टोखातर्फ लागे । टोखा नगरपालिका– २ झोर सडक खण्डमा चालकले ट्रकलाई ढुक्कसाथ अगाडि बढाइरहेका थिए । ट्रकको अगाडि गाडी तेर्स्याएर प्रहरीले खनतलासी शुरू गर्‍यो । 

विशेष अपरेसनमा खटिएका प्रहरीले ट्रक चलाइहेका कुसाङ लामालाई पैसा खोई ? भनेर सोधे । कुसाङले कुन पैसा ? केको पैसा ? भनेर जवाफ दिए । कुसाङले हाँकेको डिब्बा ट्रक अलि असामान्य खालको थियो ।

चालकभन्दा पछाडि क्याबिनको माथिल्लो भागमा ‘प्लाइउड’ प्रयोग गरेर बनाइएको फल्सबटममा प्रहरीको आँखा पर्‍यो । खोतल्दै जाँदा पैसाको थुप्रो देखियो । 

null

त्यतिबेलासम्म रातको साढे ११ बजिसकेको थियो । प्रहरीले लामालाई ट्रकसहित अनुसन्धान कार्यालयमा ल्यायो । फल्सबटम फोडेर पैसा झिक्ने क्रममा अमेरिकी डलर र यूरो मात्रै देखियो । प्रहरी तीनछक परे । 

एउटा डिब्बा ट्रकका चालकले करोडौं रुपैयाँ बराबरको डलर र यूरो बोकेर लैजाने हिम्मत कसरी गरे ? भन्दै प्रहरी सोच्न बाध्य भए । प्लाइउडको बक्साभित्र सय दरका ३ लाख ११ हजार ९०० र ५० दरको ८ हजार ९५० डलर फेला पर्‍यो । तीनवटा फल्सबटम बनाइएको बक्साभित्र ५ सय, २ सय, १ सय र ५० दरका १३ लाख ७५ हजार १५० यूरो फेला पर्‍यो । बरामद यूरो र डलरको आजको नेपाली मूल्य २५ करोड १९ लाख २४ हजार ९५० हुन आउँछ । 

यतिका पैसा लामाले किन रसुवातर्फ लगे भनेर प्रहरीले सोधीखोजी शुरू गर्‍यो । 

प्रारम्भिक अनुसन्धानमा उनी यसअघि पनि ७ किलो सुनसहित पक्राउ परी ५ वर्ष जेल परेर छुटेको अभिलेखमा देखियो । उक्त रकम पनि सुन तस्करीकै लागि प्रयोग हुन लागेको खुल्यो । 

null

लामा २०७३ पुस १३ मा राजस्व छली गरेको ७ किलो सुनसहित पक्राउ परेका थिए । ५ वर्ष कैद भुक्तान गरेर उनी २०७८ मा छुटेका थिए । त्यसपछि पनि लामाले पुरानै धन्दालाई निरन्तरता दिएको प्रहरीको आशंका छ । 

प्रहरीसँगको बयानमा लामाले आफू भरिया मात्रै रहेको बताएका छन् । पैसा चिनियाँ नागरिकले दिएको र आफूले उनलाई नचिनेको लामाको दाबी छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का लामाले उक्त डलर र यूरो सुन खरिदकै लागि चीनतर्फ लैजान लागेको प्रहरीको आशंका छ ।

प्रहरीले घटना सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले भने, ‘पैसा कसको हो भन्ने खुल्न बाँकी छ, तर हामी प्रस्ट रूपमा भन्न सक्छौं, यो रकम सुन खरिदकै प्रयोजनार्थ केरुङ लैजाने क्रममा हामीले बरामद गरेका हौं ।’ 

 

salt training

कमेन्ट गर्नुहोस्