
राजावादीहरू सक्रिय हुन थालेपछि प्रमुख दलहरूको गम्भीर ध्यानाकर्षण भएको देखिएको छ ।
नेपालमा राजसंस्था फर्काउने भन्दै राप्रपा, राप्रपा नेपाल र केही समूहले विरोध प्रदर्शनका कार्यक्रम गर्ने तयारी गरेपछि उनीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले मात्रै होइन, प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पनि राजावादीले गणतन्त्र र संविधानप्रति षड्यन्त्र गरेको बताएका छन् ।
ठूला दलहरू सत्तापक्ष र विपक्षमा बाँडिए पनि संविधानले व्यवस्था गरेका गणतन्त्र, संघीयताजस्ता परिवर्तनका मुख्य मुद्दामा उनीहरू एक ठाउँमा उभिएका हुन् ।
सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजावादी वा कसैको नाममा अराजकता फैलाउन खोजिए राज्य सशक्त भएर उभिनुपर्ने बताए ।
‘राजावादीहरूले शान्तिपूर्ण विरोध र प्रदर्शन गर्छौं भन्नुभएको छ । यस्तो भए आपत्ति मान्नु पनि पर्दैन, तर मुद्दाका हिसाबले न निरंकुश, न संवैधानिक वा कुनै पनि हिसाबको राजतन्त्र नेपालमा अब स्वीकार्य छैन,’ महतले लोकान्तरसँग भने, ‘मुद्दाका नाममा अराजकता फैलाउने कोशिश पनि हुन सक्छ । यसका लागि सरकारले सचेत भएर आफ्ना संयन्त्रलाई खटाउनुपर्छ ।’
संविधान निर्माण गर्दाको ९० प्रतिशत हिस्सा अहिलेको परिवर्तनका मुद्दाको पक्षमा रहेको भन्दै महतले राजतन्त्रको बहस अब इतिहास भइसकेको बताए ।
‘सरकारमा बस्ने दलमात्रै नभएर विपक्षीसहित संविधान निर्माण र पारित गर्नमा संलग्न भएका दलहरू संविधान र यो व्यवस्थाका पक्षमा उभिएका छौं । मुद्दाका हिसाबले सत्तापक्ष र विपक्ष भन्ने नै छैन,’ महतले भने, ‘हिजो निरंकुश शासन चलाएकाले आजको उन्नत व्यवस्था ठीक छैन भन्नु नै गलत छ । निरंकुश राजा हुँदा देशको अवस्था के थियो ? नयाँ पिँढीले हिजोको विकराल स्थितिबारे बुझ्नुपर्छ । देश बर्बाद पारेको दलले होइन, हिजोको निरंकुश राजतन्त्रले हो ।’
राजावादीको सक्रियतापछि सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी पदाधिकारीको बैठक बोलाएका थिए । बैठकमा गृहमन्त्री लेखकले २५ फागुनमा भएको राजावादीको प्रदर्शनबारे बिफ्रिङ गरेका थिए ।

लेखकले राजावादीको प्रदर्शनमा १५ हजार जति मानिस सहभागी भएको र जुलुस अनुशासित भएको बताएका थिए । शान्तिपूर्ण प्रदर्शन भएकाले सुरक्षा संयन्त्रले कुनै अवरोध नगरेको उनको भनाइ थियो । सो बैठकमा केही नेताले राजावादीको अब हुने प्रदर्शनबारे के छ सरकारको आकलन ? भनेर सोधेको एक नेताले जानकारी दिए ।
‘पहिलेको शान्तिपूर्ण प्रदर्शन भए पनि राजावादीले फेरि विरोध प्रदर्शन गर्दैछन् । यसमा सरकारको के तयारी छ भनेर पनि प्रश्न उठाइएको थियो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘जवाफमा गृहमन्त्रीले राजावादीले प्रदर्शन गरे पनि उनीहरूमै समस्या रहेकाले ठूलो प्रदर्शन र विरोधका कार्यक्रम नहुने बताउनुभयो । तर, सरकार प्रदर्शन अराजकतातिर नजाओस् भनेर चनाखो भइरहेको छ ।’
गृहमन्त्रीको बिफ्रिङपछि पदाधिकारीहरूले कांग्रेसको आधिकारिक धारणा सार्वजनिक हुनुपर्नेमा जोड दिएका थिए । कांग्रेस संविधान र यसको पक्षमा दृढ रहेको भन्दै महतले चैत १० गते बस्ने कार्यसम्पादन समितिको बैठकबाट औपचारिक निर्णय गर्ने बताए ।
‘हामी संविधानको पक्षमा उभिएका छौं । केही कुरामा अझै स्पष्टताका लागि हामीले चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाएका छौं’ महतले भने ।
एमालेले भन्यो राजावादीको ‘मुभ’ सुनियोजित
गणतन्त्र र संविधानविरुद्ध सुनियोजित षड्यन्त्र भइरहेको भन्दै एमालेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालय बैठकले एक्काइसौं शताब्दीमा वंशगत शासनको बहस आफैंमा हास्यास्पद, हानिकारक र निरर्थक भएको निष्कर्ष निकालेको छ ।
‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति नेकपा (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ७ दशक लामो बलिदानी संघर्षको परिणति हो,’ एमाले सचिवालयले भनेको छ, ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमतिविपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्दत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो ।’
जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल नहुने एमालेको भनाइ छ ।
सत्ताको नेतृत्व गरिरहेको एमालेले आगामी चैत ११ गते देशभरका वडामा जनसचेतना, १८ गते विभिन्न जिल्लामा जनप्रदर्शन र जागरणसभा गर्ने भएको छ ।
एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्ला स्तरमा अन्तरसम्वाद कार्यक्रम गर्ने, चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा आयोजना गर्ने जनाएको छ । जागरण सभा नहुने जिल्लाका हकमा वृहत् मोटरसाइकल र्याली गर्ने एमालेको निर्णय छ ।
त्यस्तै चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने निर्णय एमालेले गरेको छ । काठमाडौं उपत्यकामा विशेष सभा गर्ने निर्णय पनि एमालेले गरेको छ ।
यता प्रधानमन्त्रीनिकट स्रोत संवैधानिक सीमा र अधिकारभित्र रहेर गरिने लोकतान्त्रिक गतिविधिलाई अनुचित नमान्ने बताउँछ । तर, अराजकता फैलाउने, उच्छृङ्खल गतिविधि गर्ने, विषयलाई अनावश्यक म्यानुपुलेट गर्ने काम गरे त्यसलाई मसिनो गरी उक्त स्रोतको भनाइ छ ।
‘संवैधानिक अधिकार प्रयोग गरेर विरोध प्रदर्शन गर्न र कानूनले अनुमति दिएका कुरामा राज्यले कहिल्यै निषेध गर्दैन । राजतन्त्र हुँदा यो अधिकार थिएन,’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ, ‘अहिलेको सुन्दर व्यवस्थाभित्र राजावादीले पनि लोकतन्त्रको प्रयोग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाएका छन् । त्यो अधिकार उनीहरूलाई छ । तर, समाज भड्काउने गतिविधि हुँदा राज्यले गर्ने काम स्वभावैले गर्छ ।’
अराजकता फैलाउने हिसाबले गतिविधि गर्ने, इमोसनल कुरा गरेर जनता भड्काउने शैलीलाई नजिकबाट हेरिरहेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
‘हिजो राजाको पालामा हिँड्दाहिँड्दैमा मोबाइल फोन लुटिएको, समाचार रोकिएको, पत्रिकामा सेनाका मेजरले भनेको मात्रै छापिएको विषय अहिलेको पुस्तालाई थाहा छैन । उनीहरूलाई नै इमोसनल कुरा गरेर भड्काउन सकिन्छ कि भनेर राजावादीहरू लागेका छन्,’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ, ‘हिजोको त्यो अराजकता र निरंकुशताबारे युवाले गहिरो गरी बुझ्नुपर्छ । यसैले हिजो निरंकुशता लाद्नेले अहिले जनता र राष्ट्रको जीवनमा प्रभाव पार्छौं भन्नु नै भ्रम हो ।’

माओवादी आक्रामक
राजावादीको प्रदर्शनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले शुरूमा कुनै धारणा सार्वजनिक गरेको थिएन । मधेशमा भइरहेको जनतासँग माओवादी अभियान स्थगित गरे पनि माओवादीले राजावादीको प्रदर्शनप्रति आपत्ति जनाएको थिएन ।
तर, केही दिनपछि दबाब महसुस गर्दै माओवादी आक्रामक शैलीमा प्रस्तुत भइरहेको छ । पछिल्लो केही दिनयता खुलेरै पूर्वराजा र राजसंस्थाको आलोचनामा गर्नेमा माओवादी अगाडि देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रको पक्षमा प्रदर्शन हुन थालेपछि पूर्वराजा ज्ञानेन्द्रमाथि गम्भीर आरोप लगाएका थिए ।
‘नेपाली जनताले बिर्सेको छ, मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा ? भाइमारा को हो ?’ केही दिनअगाडि सिन्धुपाल्चोक पुगेर प्रचण्डले भनेका थिए, ‘आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ?’
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले राजावादीको विरोध हावा खुस्किसकेको बेलुन जस्तो भएको बताए ।
‘राजावादीहरूको विरोध हावा खुस्किएको बेलुनजस्तो भइसक्यो । मनोगत लहडले आन्दोलन उठ्नेवाला छैन,’ सापकोटाले लोकान्तरसँग भने, ‘मजबुत जगमा खडा भएको गणतन्त्र र संघीयता उल्टिँदैन । देशमा अराजकता सम्भव छैन । परिवर्तनको स्वाद चाखिसकेका जनता गणतन्त्र र लोकतन्त्रको सवालमा भ्रममा छैनन् ।’
राजावादीले अराजकता मच्चाउन खोजे प्रतिवाद गर्ने समेत सापकोटाले बताए ।
‘मुद्दाका हिसाबले पनि राजावादीले अराजकता मच्चाउन सम्भव छैन । संविधानलाई मान्ने सवालमा परिवर्तन पक्षधर शक्ति एकजुट छौं,’ सापकोटाले भने, ‘हाम्रो समाजवादी मोर्चाले पनि विरोध गर्दै बैठक गरिसकेको छ । आवश्यक परे सत्तारुढ दलसँग संवाद पनि गर्छौं ।’
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा प्रदर्शनसहितको सभा गर्दैछ । केही दिन अभियानलाई छोट्ट्याए पनि फेरि जनतासँग जोडिएको उनी बताउँछन् ।
‘हामी बहुआयामिक सन्देश दिँदै अभियानमा छौं । अभियानमा जनता परिवर्तन र अग्रगमनको पक्षमा छन् र लोकतन्त्रलाई अझै उन्नत बनाउनुपर्छ भन्ने मागमा छन् भन्ने देखिन्छ,’ सापकोटाले भने, ‘यसैले राजावादीको सानो समूह र पार्टीले गरेको विरोध प्रदर्शनले कुनै नतिजा निकाल्न सक्दैनन् भन्ने हामी प्रस्ट छौं ।’
के छ सुरक्षा तयारी ?
चैत १५ मा समाजवादी मोर्चाले काठमाडौंमा गर्ने वृहत् प्रदर्शनमा घुसपैठ हुने सम्भावनालाई मध्यनजर गरेर प्रहरीले सुराकी परिचालन गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटा जिल्ला प्रहरी परिसरसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ ।
उपत्यका प्रहरी कार्यालयमा राजनीतिक विश्लेषण गर्ने छुट्टै इकाई छ । उक्त इकाइले सूचना संकलन गरिरहेको छ । यसका अलावा ३ वटा प्रहरी परिसर र अनुसन्धान कार्यालयले आ–आफ्नै सुराकी परिचालन गरेर राजनीतिक सूचनाको विश्लेषण गरिरहेका छन् ।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘राजावादीहरूको प्रदर्शनलाई काउन्टर दिन भनेर समाजवादी मोर्चाले गर्न लागेको प्रदर्शनमा राजनीतिक घुसपैठ हुन सक्ने आशंकामा सूक्ष्म निगरानी र सूचना संकलनको काम भइरहेको छ । हामीले सम्भावित खतरा वा चुनौतीलाई लिएर विश्लेषण एवं निगरानी गरिरहेका छौं ।’
यसअघि राजावादीहरूले गरेको प्रदर्शनमा १० हजारको संख्यामा प्रदर्शनकारी आउने आकलन गरिए पनि १५ देखि १६ हजारको संख्यामा प्रदर्शनकारी आएको रिपोर्टिङ इकाइले मातहतमा गरेको थियो । मोर्चाको प्रदर्शनमा १५ देखि १७ हजारसम्म प्रदर्शनकारी उत्रिने आकलन प्रहरीको छ ।

राजावादीबीच नै विवाद
राजतन्त्रको पक्षमा राप्रपा र राप्रपा नेपालले वकालत गर्दै आएका छन् । तर, यी दुवै पार्टीभित्रका केही नेतासहित पूर्वराजा ज्ञानेन्द्र शाहको समेत समर्थनमा ८६ वर्षका नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलनको संयोजन गर्ने जिम्मा दिइएको छ ।
औपचारिक बैठक नगर्दैदेखि यसले राप्रपाभित्रै विवाद ल्याइदिएको छ । आफूसँग सल्लाह नै नगरी सुवेदीको नाम अगाडि सारिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गराएका छन् । सुवेदी नेतृत्वको समितिले पनि सबैलाई स्वीकार्य हुने गरी कार्यक्रमको कुनै खाका बनाइसकेको छैन ।
लिङ्देनसँगै पराजित भएपछि राप्रपा नेपाल खोलेका कमल थापाले भने सुवेदीको नेतृत्वमा समिति बनेको भन्दै स्वागत गरेका छन् । तर, राप्रपामा लिङ्देनलाई बाइपास गरिएको भन्दै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका नेताप्रति संस्थापनका नेताले आपत्ति जनाएका छन् ।