
कोशी प्रदेश सरकारले घातक रोग लागेका २ हजार ५ सय ५६ जना विपन्न नागरिकहरूलाई १३ करोड २८ लाख बढी रकम प्रदान गर्ने भएको छ ।
जसमा क्यान्सर रोग लागेका १ हजार ५ सय ७ जना, मृगौलासम्बन्धी रोग लागेका ५ सय ३६, मृगौला प्रत्यारोपण गरेका ८५ जना, मुटुरोगी ३ सय ३१ जना, कलेजो रोगी १५ जना, थालासिमिया ३ जना, पार्किन्सन्स ७ जना, फोक्सोका बिरामी १ जना, स्पाइनल इन्जुरी ४१ जना, हेड इन्जुरी २९ जना र मस्तिष्क घातका १ जना रोगीलाई औषधि उपचार बापत आर्थिक सहायता दिनेगरी शनिबारदेखि सो रकम उपलब्ध गराउने निर्णय भएको स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
प्रदेश सरकारले घातक रोग लागेका बिरामीहरूलाई उपचार सहुलियत दिन भन्दै ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बजेट अपुग हुने भएपछि मन्त्रालयले केही समयदेखि बाँड्न सकेको थिएन । थप रकम रकमान्तर गरेर आर्थिक सहायता मन्त्रालयले बाँड्न लागेको हो ।
रकमान्तर गर्दा पनि पैसा अभाव हुने भएपछि अगाडि दिँदै आएको भन्दा ५० प्रतिशत कम दिने मन्त्रालयले जनाएको छ ।
स्रोत अभाव भएको भन्दै ५० प्रतिशत घटाएर रकम उपलब्ध गराउन कार्यविधि नै संशोधन गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले हाललाई भने घातक रोग लागेका बिरामीको उपचारका लागि दिने सहुलियतको निवेदन लिन छाडेको छ ।