
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो हालको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी भएको बताएकी छन् ।
भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग यो कुरा खुलाएकी हुन् ।
'यो भ्रमणमा भारतका विदेशमन्त्री एस जयशंकर र अन्य देशका समकक्षीहरूसँग भेट भयो । राइसिना डायलगमा पनि सम्बोधन गरें । भारतबाट नेपालले खरिद गर्ने विद्युतको निरन्तरताका लागि पहल गरें । त्यसैले कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो,' उनले भनिन् ।
भ्रमणका क्रममा उनले भारतका विदेशमन्त्रीसँगै मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका परराष्ट्रमन्त्रीहरू र अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै छलफल गरेकी थिइन् ।
'भारतमा रहँदा नेपालको विद्युत अभाव समाधानका लागि कूटनीतिक प्रयास गरें । खासगरी नेपाल-भारतबीचको द्विपक्षीय सम्झौताअनुसार इन्डियन इनर्जी एक्सचेन्जमार्फत नेपालमा आपूर्ति हुने विद्युतको मात्रा बढाउन अनुरोध गरेको छु,' राणाले थपिन् ।
अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिक्की गिलसँगको भेटमा उनले नेपाललाई दिइँदै आएको सहयोगको निरन्तरता र हमासले बन्धक बनाएका नेपाली विपिन जोशीको रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेकी छन् । युक्रेनी परराष्ट्रमन्त्रीसँगको छलफलमा युक्रेनमा युद्धबन्दी बनेका ७ नेपालीको रिहाइको पहल पनि भएको उनले बताइन् ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सोधिएको एक प्रश्नमा उनले भनिन्, 'यसबारे भारतमा कुरा भएन । तर भारतले नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहेको हामीले बुझिरहेकै छौं ।'