नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा उत्तरपश्चिम पृतना सुर्खेतमा आज आयोजित दोस्रो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन–२०८१’ सम्पन्न भएको छ ।
सुर्खेतसँगै नेपालगन्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला उपकेन्द्रमा एकैसाथ सुरू भएको सम्मेलन ती जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा सम्पन्न भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले भूपू सैनिक सम्मेलन नेपाली सेनाबाट अवकाशप्राप्त सैनिकको विशेष पुनर्मिलन कार्यक्रमका रूपमा रहँदै आएको बताए ।
उनले सम्मेलनमा अवकाशप्राप्त सकल दर्जा तथा परिवारजनसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियाले हामीबीचमा रहेको भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउनका साथै संस्थागत प्रयासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
'भूपू सम्मेलन हामीबीचको पुनर्मिलनको महत्त्वपूर्ण अवसर हुनाका साथै एकआपसमा अनुभव साट्ने एवं बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामिप्यताको भावना थप जागृत गराउने अवसर हो,' उनले भने ।
प्रधानसेनापतिले कल्याणकारी कोषको मितव्ययी र पारदर्शी प्रयोगबाट कोषको दिगोपन तथा सेवा सुविधालाई निरन्तरता दिई थप व्यवस्थित गर्ने योजना भइरहेको बताउँदै स्रोतको सीमितताका बाबजुद हिताधिकारीबाट प्राप्त राय सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्दै लैजाने जानकारी गराए ।
नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत एवं अवकाशप्राप्त रथी गौरव तण्डुलले कल्याणकारी कोषको रकमलाई आयमूलक क्षेत्रमा लगानी गर्न, कल्याणकारी कार्यलाई दिगो तथा परिणाममुखी बनाउने उद्देश्यका साथ शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई क्रमशः विस्तार एवं सेवामुखी बनाउने प्रयास भइरहेको स्पष्ट पारे ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा सञ्चालित विभिन्न सहुलियतपूर्ण कर्जा कार्यक्रममा हालसम्म अवकाश प्राप्त र एकल महिलातर्फ २३ हजार एक सय ८५ र वहालवालातर्फ १० हजार ९४ गरी ३३ हजार दुई सय ७९ जनाले रू सात अर्ब ६७ करोड ६२ लाख ९५ हजार कर्जा सुविधा लिएको उनले जानकारी दिए।