
विराटनगर । एमालेका नेताहरूले चुनाव नगराउने बताएपछि प्रेस चौतारीको अधिवेशनमा चुनाव गराउन माग राख्दै प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको महाधिवेशनमा काठमाडौँबाट नै अध्यक्ष र महासचिव टुङ्ग्याएको भन्दै उनीहरूले चुनाव गराउन माग राख्दै हस्ताक्षर गरेका हुन् । ओलीले प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए।
‘हामी भेडा बाख्रा होइनौँ,’ एक प्रतिनिधिले भने, ‘माथिबाट नै प्रमुख पद टुङ्ग्याउने भए किन दुःख दिएको ? चुनाव गराएपछि पराजित हुनेलाई पनि ढुक्क हुन्छ।’
अध्यक्षका प्रत्याशी राजेश राई निकटका व्यक्तिले सो हस्ताक्षर गरेको स्रोतले बतायो । ओलीले महासचिवमा अगाडि सारेका अधिकारी भने अघिल्लो पटक उनी प्रधानमन्त्री भएका बेला प्रेस संयोजक थिए। ‘राजनीतिक नियुक्ति पनि उसैलाई, पार्टीको जिम्मा पनि उसैलाई चाहिने भए हाम्रो काम नै देखिएन,’आक्रोशित हुँदै एक प्रतिनिधिले भने ।
अध्यक्ष ओलीले उद्घाटन गर्ने गरी कार्यक्रम तय गरिए पनि निर्देशन लागू नहुने भएपछि उनी आएनन् । महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्दै अहिले सङ्कटको अवस्था भएकाले सहमतिमा नेतृत्व चुन्न भनेका थिए।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि नयाँ नेतृत्व चयन सर्वसम्मतिबाटै गर्नुपर्ने बताएका छन् । गौतमले अहिले नेपाल पत्रकार महासङ्घको चुनाव नभई एमाले निकटहरूको महाधिवेशन भएकाले कोही पनि आफूखुसी उफ्रिएर हिँड्न नहुने बताएका थिए ।
तर नेकपा एमालेका नेता विनोद ढकालले भने प्रेस चौतारीको महाधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताएका छन् । केही दिन अगाडि मोरङको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको प्यानलविरुद्ध ढकालले अलग्गै प्यानल खडा गरेर बहुमतसहित जित निकालेका थिए। चौतारीको अधिवेशनमा पनि अध्यक्ष ओलीले उपाध्यक्ष गणेश पाण्डेलाई सर्वसम्मत गर्न निर्देशन दिएको भन्दै प्रतिनिधिहरू असन्तुष्ट रहेको बेला ढकालले नयाँ सन्देश दिनुपर्ने बताएपछि चुनावी स्थलमा अधिवेशनमा आएका कार्यकर्ताहरुले ताली बजाएका थिए ।
यता महासचिव शङ्कर पोखरेल स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, हिकमत कार्की, शेरधन राई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरूले उपाध्यक्ष राईसँग छलफल गरेका थिए। महासचिव पोखरेलले पार्टीको निर्णय मान्न भने पनि राईले भने अध्यक्षको प्रत्याशी भन्दै भोट मागिरहेका छन्।
चुनावका लागि एक सय जनाभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । अध्यक्षका प्रत्याशी गणेश पाण्डेले चौतारीको अधिवेशनस्थलमा निर्वाचन गराउने भनेर गरिएको हस्ताक्षर अभियान केही व्यक्तिहरूले रमाइलोका लागि गरेको हुनसक्ने बताए। निर्वाचन गर्ने नगर्ने भन्ने विषय संगठन र पार्टीको विषय भएको भन्दै उनले सहमतिमै नेतृत्व चयन हुनुपर्छ भनेर पार्टीले भनेको बताए ।
अध्यक्षका प्रत्याशी राजेश राईले स्वस्थ प्रतिस्पर्धालाई रोक्न नहुने बताए। ‘नेतृत्व निर्माण लोकतान्त्रिक प्रक्रिया बमोजिम र सार्वभौम प्रतिनिधिहरूको मत मार्फत हुनेछ,’ राईले भने, ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको अभिमत नै निर्णायक तत्त्व हो। यस कुरालाई हामीले हेक्का राखेका छौँ।’
महाधिवेशनमा देशभरबाट नौ सय प्रतिनिधि सहभागी भएको चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिए।